काठमाडौँ, १६ पुस । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमाले–माओवादी केन्द्रबीच पार्टी एकता भएपश्चात ओली र प्रचण्डले सक्रिय राजनीतिबाट सन्यास लिदा उपयुक्त हुने बताएका छन् । एमाले पेशागत विशेष जिल्ला कमिटीको सञ्चार एकताको आयोजनामा काठमाडौँमा भएको कार्यक्रममा सचिव भट्टराईले ओली र प्रचण्डलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका हुन् ।
भट्टराईले ओली र प्रचण्डले पटक पटक परीक्षा दिइसकेकाले अब फेरी परीक्षा दिइराख्नु नपर्ने बताए । ‘उहाँहरुले पटक पटक परीक्षा दिइराख्नु पर्दैन’ उनले भने, ‘किनकी यो भन्दा माथि जाने ठाउँ छैन । पटक पटक परीक्षा दिँदा कम नम्बर आउन पनि सक्छ ।’
अब पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री भइरहन ओली र प्रचण्डलाई जरुरत नभएको उनले बताए । एमाले र माओवादीका दोस्रो र तेस्रो तहका नेताहरु पार्टी र देशको नेतृत्व लिन तयार रहेको उनको भनाइ थियो ।
भट्टराईले भने, ‘यदि उहाँहरुले राजनेता बन्ने साहस देखाउनुभयो भने देशभर उहाँहरुको शालिक बन्नेछ । उहाँहरुले बनाउ भन्नै पर्दैन ।’ यो संसारका लागि सिकाइ र चमत्कारको विषय पनि हुने उनले बताए ।
भट्टराईले निर्वाचन आयोगको भुमिकाको पनि आलोचना गरे । नेपाली काँग्रेसको यो अन्तिम सरकार भन्दै उनले काँग्रेस सभापति देउवाले सरकार छोड्न आनाकानी गरेर लज्जास्पद काम गरेको टिप्पणी गरे ।















प्रतिक्रिया