काठमाडौँ, १५ पुस । एभरेष्ट प्रिमियर लिगको उपाधि विराटनगर वारियर्सले जितेको छ । भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै विराटनगरले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
शनिबार भएको फाइनल खेलमा १५० रनको लक्ष्य पछ्याएको भैरहवाले १४८ रन मात्र बनाउन सक्यो । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रनको विजय लक्ष्य भैरहवासामु पेस गरेको थियो ।
विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ४१ रन बनाए । यस्तै कप्तान पारस खड्काले २७ रन जोड्दा अनिल कुमार शाहले २२ तथा प्रनित थापा मगरले १४ रनको योगदान गरे । भैरहवाका हरीशंकर शाह र कृष्ण कार्कीले २/२ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको भैरहवा २० ओभरका ९ विकेट गुमाएर १४८ रनमा समेटियो । भैरहवालाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक थियो। तर भैरहवाले अन्तिम ओभरमा २ विकेट गुमायो भने ७ रन मात्र बनाउन सक्यो । भैरहवाका लागि कप्तान शरद भेषावकरले ५२ रनको योगदान गरेपछि जित दिलाउन सकेनन् । यस्तै प्रथम सालुन्केले ३० रन बनाए । विराटनगरका करण केसी र कप्तान पारसले १/१ विकेट लिए ।















प्रतिक्रिया