काठमाडौँ, १३ पुस । निर्माण सामग्रीहरुको अव्यवहारिक ढंगले मूल्यबृद्धि गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले मूल्यबृद्धि फिर्ता लिन माग गरेको छ । विगत केही साता अघिदेखि डिजेल सहित सिमेन्ट, डण्डी, गिटी, बालुवा लगायतका अत्यावश्यक निर्माण सामग्रीहरुमा अप्रत्याशित मूल्यबृद्धि भएको भन्दै महासंघले मूल्यबृद्धिको माग गरेको हो ।
महासंघले प्रेस विज्ञप्ति जारी गर्दै मूल्यबृद्धि तर्फ आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । निर्माण सामग्रीहरुमा अप्राकृतिक र अप्रत्याशित ढंगले भएको चर्को मूल्यबृद्धिका कारण देशभरका निर्माण कार्यहरु प्रभावित भई लागत समेत बढ्ने भएकाले व्यवसायीहरु ठूलो मारमा परेको महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठद्धारा बिहिबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देशको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने गरी भएको यस्तो मूल्यबृद्धि अविलम्ब विना शर्त फिर्ता हुनुपर्दछ । अन्यथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाईका साथ लागू गराई सबै निर्माण कार्यहरुमा निर्माण व्यवसायीहरुले विना झन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूची बमोजिम मूल्य समायोजनको रकम प्राप्त गर्ने व्यवस्था गरिदिनु हुन महासंघ अनुरोध गर्दछ ।’
मूल्यबृद्धिको मारमा परिसकेका व्यवसायीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाई दिनपनि महासंघले आग्रह गरेको छ । साथै निर्माण सामग्रीहरु भारतबाट आयात गर्न र सोको भन्सार छुटको व्यवस्था समेत गरिदिन महासंघले माग गरेको छ । मुलुक नवनिर्माण तथा पुर्ननिर्माणको महत्वपूर्ण चरणबाट गुज्रिरहेको वर्तमान अवस्थामा निर्माण व्यवसायीहरुलाई मारमा पर्ने गरी भइरहेका यस प्रकारका सबै गतिविधि तत्काल अन्त्य गरी पूर्ण विकास निर्माण र निर्माण व्यवसायी मैत्री वातावरण सिर्जना गरिदिन महासंघले आग्रह गरेको छ ।
















प्रतिक्रिया