लमजुङ, १४ मंसिर । समुद्री आँधी हुद्हुद्को प्रभावले गत असोज २८ र २९ गते मनाङमा भएको हिमपातमा परी बेपत्ता भएका एक जापानी नगरिकको शव फेला परेको मनाङ प्रहरीले जनाएको छ ।
डेढ महिनाअघिको सो हिमपातमा परी बेपत्ता भएका जापानी पर्यटक ३३ वर्र्षका कोजी इनोभिकोको शव फेला परेको हो । पासपोर्ट नम्बर टिजी ७८७०४७१ का जापानी नागरिक कोजी इनोभिको असोज २८ गते मनाङको तिलिचो बेसक्याम्पबाट तिलिचो तालतर्फ जाने क्रममा हिमपहिरोमा परेर हराएका थिए । मनाङको खाङ्सार गाउँ विकास समिति वडा नं ९ तिलिचोमा बिहीबार उनको शव फेला परेको मनाङ प्रहरीले जनाएको छ । मृतकको शव हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ ।
विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्न गएका पर्यटकले गत बिहीबार तिलिचो नजिकै शव देखेपछि मनाङ प्रहरीलाई खबर गरेका थिए । मनाङको हुम्दे विमानस्थलस्थित सीमा प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक जीवन लामाको नेतृत्वको टोलीले झन्डै पाँच हजार ५० मिटर उचाइमा रहेको सो स्थानमा गई शवको मुचुल्का गरी शनिबार काठमाडौँ पठाएको मनाङका प्रहरी प्रमुख राजेन्द्र रेग्मीले बताउनुभयो ।
गत असोज २८ र २९ गतेको हिमपातका कारण मनाङमा नौजना पर्यटक र तीनजना स्थानीय बासिन्दा बेपत्ता भएका थिए । जसमध्ये फू गाविसको काङमा हराएका तीनजना क्यानाडेली नागरिक र चौँरी चराउन गएका तीनजना गाउँले अझै बेपत्ता छन् । रासस















प्रतिक्रिया