१४ कार्तिक २०८३, शनिबार

तातोपानी नाका खोल्न चीन सकारात्मक

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ११ पुस । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालनका लागि सीमा क्षेत्रमा संयुक्त आदेश संयन्त्र (ज्वाइन्ट कमान्ड मेकानिजम) कार्यालय स्थापना गर्न नेपाल पक्ष तयार भए नाका सञ्चालन गर्न सकिने चिनियाँ पक्षले संकेत गरेको छ ।

नेपाल र चीनबीचका सुरक्षा अधिकारीहरूबीच शनिबार खासामा सम्पन्न सीमा सुरक्षा बैठकमा चिनियाँ अधिकारीहरूले नाकामा यस्तो कार्यालय स्थापना भए नाका सञ्चालन गर्न सकिने संकेत गरेको हो ।  राजधानी दैनिकले समचार छापेको छ ।

नेपाल–चीनबीच सीमा जोडिएका आठ नाकामध्ये सुरक्षाको दृष्टिकोणले तातोपानी नाका बढी संवेदनशील रहेकाले सयुक्त कमान्ड स्थापना गर्न चिनियाँ अधिकारीहरूले नेपाली पक्षसँग आग्रह गरेको बैठकमा सहभागी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

तातोपानी नाका सञ्चालन भए पनि यो नाकाबाट चीनविरोधी गतिविधि जारी रहेकाले चिनियाँ अधिकारीहरूले नाकामा संयुक्त आदेश संयन्त्र र यसको कार्यालय स्थापनामा नेपालको धारणा समेत मागेको छ ।

‘चिनियाँ पक्षले दुई विषयमा केन्द्रित रहेर हामीलाई डकुमेन्ट दिएको छ, गृह मन्त्रालय राजी भएर त्यो डकुमेन्टमा सम्झौता भयो भने नाका सञ्चालन हुन सक्ने हामीले पाएका छौ,’ प्रजिअ तामाङले भने, ‘हामीप्रतिको धेरै विश्वास देखिएन, यो नाकाबाट बढी चीनविरोधी गतिविधि हुने चिनियाँ पक्षको बुझाइ देखियो ।’

बन्द रहेको नाका सञ्चालनका लागि चीनस्थित तिब्बतको उद्योग वाणिज्य संघ आतुर रहेको समेत चिनियाँ पक्षले नेपाली अधिकारीहरूलाई जानकारी दिएको छ । भूकम्पपछि क्षति भएको चीनतर्फको सडक मर्मत कार्य जारी रहेको र अबको दुई महिनाभित्र चीनतर्फको सडक मर्मत सकिनेगरी मर्मत कार्य भइरहेको पनि चिनियाँ अधिकारीहरूले नेपाली पक्षलाई जानकारी गराएको थियो ।

सीमामा सयुक्त कमान्ड कार्यालय स्थापना भयो भने नेपालको तर्फबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धन विभाग सो संयन्त्रमा रहनुपर्ने चिनियाँ अधिकारीको सर्त छ ।

सीमा सुरक्षा बैठकमा उठेका विषयहरू आफूले गृह मन्त्रालयमा जानकारी गराउने र मन्त्रालय तयार भए जिल्ला तहबाट नै यसलाई सम्झौता गर्न आफूहरू तयार भएको प्रजिअ तामाङले जानकारी दिए ।

यसैबीच, सिन्धुपाल्चोक–१ का सांसद अग्निप्रसाद सापकोटाले चिनियाँ पक्षले राखेको प्रस्ताव सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । ‘चिनियाँ पक्षले राखेको यो प्रस्ताव सकारात्मक छ, अब नाका खोल्ने सम्भावना बढेको छ,’ सापकोटाले भने, ‘अब नयाँ सरकार गठन हुनसाथ हामी नाका सञ्चालनका लागि थप पहल गर्छौं ।’ चिनियाँ पक्षले सुरक्षाको विषय उठाउनु जायज भएको बताउँदै सापकोटाले उनीहरूको यो प्रस्ताव नाका सञ्चालनका लागि एउटा आधार भएको बताए ।

त्यस्तै, प्रदेशसभाका सांसद अरुण नेपालले पनि चिनियाँ पक्षले ल्याएको प्रस्ताव स्वागतयोग्य भएको प्रतिक्रिया दिए । ‘यो प्रस्तावलाई मैले नाका सञ्चालनको एउटा आधारका रूपमा लिएको छु,’ नेपालले भने ।