नुवाकोट, १३ मंसिर । नुवाकोट जिल्लाबाट हुँदै आएको महिला बिक्रीको घटनामा आफन्तहरूकै संलग्नता रहने गरेको पाइएको छ ।
महिला बिक्रीमा तामाङ समुदाय र दलित समुदायका महिला प्रायः पर्दै आएका छन् । महिला बिक्रीमा ८० प्रतिशत घरपरिवार र आफन्तको संलग्नता रहने गरेको महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था कोसेली नेपालले जनाएको छ ।
आफन्तकै संलग्नतामा बिक्री हुने गरेको र भारतमा आफ्नै कोठी रहने भएकाले पनि अपराधीहरू कानुनी दायरामा ल्याउन नसकिएको कोसेली नेपालका अध्यक्ष अस्मिता थापाले बताउनुभयो । महिला बिक्री भएको जानकारी रहँदा पनि पीडित पक्षले कानुनी कारबाहीका लागि उदासीनता देखाएका कारणले समस्या भएको थापा बताउनुहुन्छ ।
नुवाकोट जिल्लाको उत्तरपूर्वी भेगका घ्याङ्फेदी, उर्लेनी, बेतिनी, बालकुमारी, गाउँखर्क, शिखरबेँसी, रालुकादेवी गाउँ विकास समितिका महिला बढी बिक्री हुँदै आएका छन् । पहिलेजस्तो सिधै बिक्रीका लागि सडक मार्गबाट भारत नलगी विभिन्न रोजगारीका नाममा महिला बिक्रीका घटना बढेको छ ।
वैदेशिक रोजगारीका लागि राहदानी बनाएर हवाईमार्ग मार्फत भारत लगेर महिलाको बिक्री हुन थालेको छ ।
अहिलेसम्म कम्तीमा ५० हजारभन्दा बढी महिला यौन बजारमा बिक्री भएको अनौपचारिक तथ्याङ्क रहेको छ । सरकारले महिला बिक्री रोकथामका लागि प्रभावकारी रूपमा रोजगारमूलक कार्यक्रम र योजना लागू नगर्दा बिक्रीमा कमी आएको छैन । रासस















प्रतिक्रिया