काठमाडौं, १० पुस । वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने पक्कापक्की भएपछि माओवादी केन्द्रबाट चुनाव जितेकाहरू अहिलेदेखि नै भावी सरकारमा आफ्नो स्थान सुरक्षित गर्नेतर्फ लागेका छन् ।
एमाले–माओवादीको माथिल्लो तहमा सरकार गठनभन्दा पनि पार्टी एकताबारे छलफल भइरहेका बेला माओवादी केन्द्रबाट प्रतिनिधि सभातर्फ प्रत्यक्षमा निर्वाचित भएका सांसद्हरू भने लबिङमा जुटेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।
यद्यपि, माओवादी केन्द्रले यो विषयलाई अहिलेसम्म छलफलमा ल्याएको छैन । एमालेले नेतृत्व गर्ने अबको सरकारमा माओवादीबाट मन्त्री बन्नेहरूको ताकुर माकुर त चर्को हुने नै छ, त्योभन्दा पनि बढी कसले नेतृत्व गर्ने भन्ने मामलाले महाभारतकै रुप लिनसक्ने अनुमान अहिलेदेखि नै गरिएको छ ।
विगतमा सरकारमा सहभागी हुने बेला पनि माओवादीमा सरकारको नेतृत्व गर्न हानाथाप पर्ने गरेको थियो । चुनावअघि एमाले सरकारमा माओवादीतर्फबाट नेतृत्व गरेर जाने साझा व्यक्तित्वका रुपमा नारायणकाजी श्रेष्ठलाई हेरिएको भए पनि उनी सुरुमै मैदानबाट बाहिरिएपछि खेल खत्तम भएको छ ।
प्रतिनिधि सभामा जितेका हाइप्रोफाइल सांसद्मध्ये कसैले कसैलाई नगन्ने भएकाले नेतृत्वको विषय पेचिलो हुनसक्ने अनुमान अहिलेदेखि नै गरिएको छ । एमाले नेतृत्वको सरकारमा माओवादी जाँदा पार्टीको नेतृत्वमा कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, वर्षमान पुन, जनार्दन शर्मालगायतले स्वभाविकरुपमा दाबी पेश गर्न सक्ने अवस्था छ ।
माओवादी सहभागी हरेक सरकारमा मन्त्री बन्ने सौभाग्य पाएकाले कृष्णबहादुर महरा यसपटक लोभिने सम्भावना कम रहेको बताइन्छ । तर, टोपबहादुर रायमाझी केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि बाहिरै रहेकाले उनले योपटक नेतृत्व गरेर सरकारमा जान पाउनुपर्ने मागलाई जोडतोडका साथ उठाउने चर्चा माओवादीभित्र छ । १५ सदस्य मन्त्रिपरिषदमा रायमाझीसंगै सरकारको नेतृत्वमा पार्टीबाट दाबी गर्नेहरू अरु पनि रहेकाले यो विषय बढी नै पेचिलो हुने धेरैको अनुमान छ ।
माओवादीका कुशल रणनीतिकारका रुपमा चिनिन्छन्, वर्षमान पुन । प्रचण्डका अति नै निकट रहेकाले र ०७० सालको चुनावमा व्यहोरेको हारले सत्तायात्राबाट कर्नरमा पुगेका पुनले यसपटक सोझै पार्टीबाट सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग प्रचण्डसंग राख्ने सम्भावना छ ।
प्रचण्डले यी विश्वासपात्रको चित्त कसरी बुझाउने हुन् ? अहिले नै भन्न सकिने अवस्था छैन । वर्षमान पुन सभामुख बन्न सक्ने सम्भावना पनि छ । जनार्दन शर्माले पनि सरकारमा महत्वपूर्ण हिस्सा खोज्ने देखिन्छ । शर्माले वाम गठबन्धन निर्माणको कोरियोग्राफर आफूलाई बताउँदै आएकाले सकेसम्म पार्टीबाट सरकारको नेतृत्व गर्ने, त्यसो हुन नसकेमा महत्वपूर्ण मन्त्रालयमा बार्गेनिङ गर्ने छन् । स्रोतका अनुसार, ऊर्जा र गृहमा राम्रो भूमिका खेलेकाले उनले यसपटक गृहमा नै निरन्तरता पाउनुपर्ने अडान राखेका छन् ।
ओली नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका शक्ति बस्नेतले पनि यसपटक मन्त्री हुने लालचा आफूनिकटकासंग राखेका छन् । प्रचण्डका विश्वासपात्रका रुपमा लिइने बस्नेतलाई प्रचण्डले कसरी व्यवस्थापन गर्छन्, माओवादी वृत्तमा निकैनै चासोका साथ हेर्न थालिएको छ ।
लमजुङबाट जित निकालेका देव गुरुङ पनि माओवादीभित्रका मन्त्री बन्नलायक नेता हुन् । प्रचण्डसंग सम्बन्ध विच्छेद गरेर वैद्यसंगै बाहिरिएका र पछि पुनः एकफेरो मारेर प्रचण्डपथमा नै फर्किएका उनले पार्टी अध्यक्षले न्याय गरेर महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने आश पालेका छन् ।
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा एलडीओलाई शौचालयमा थुनेर चर्चामा आएका मात्रिका यादव यसपटक धनुषा १ बाट विजयी भएका छन् । माओवादीमा मधेसबाट प्रतिनिधित्व गर्ने अग्लो कदका नेतामध्येमा यादव पर्ने भएकाले पनि उनले यसपटक मन्त्रीमा दावी गर्ने अनुमान गरिएको छ । यद्यपि, प्रतिनिधिसभा सदस्यमा विजयपछि आफ्नै क्षेत्रका मतदातालाई धन्यवाद दिन व्यस्त यादवले यसबारे मुख खोलेका छैनन् ।
ललितपुर ३ बाट विजयी पम्फा भुसाल, झापा १ बाट जित निकालेका सुरेन्द्र कार्की, मोरङ ५ बाट माओवादी पक्षमा नतिजा निकालेका शिवकुमार मण्डलको पनि अब बन्ने मन्त्रिपरिषद्मा मन्त्री बन्ने उत्तिकै सम्भावना छ ।
यीमध्ये महिला भएकाले पम्फा भुसालको बढी नै सम्भावना छ । सिन्धुलीका हरिबोल गजुरेल, मोहन बस्नेतलाई परास्त गरेका अग्नि सापकोटा, बागलुङबाट बाजी मारेका देवेन्द्र पौडेल पनि सम्भावित मन्त्रीका अनुहार हुन् । नुवाकोटमा महत बंशको अन्त्य गराएर चर्चामा आएका हितबहादुर तामाङलाई मन्त्री बनाउनुपर्ने मत पनि उत्तिकै उठिरहेको छ ।
सांसद्मा सानदार जित निकालेका गिरिराजमणि पोखरेल, प्रभु साह, कमला रोका, टेकबहादुर बस्नेत, लेखराज भट्टले पनि अब बन्ने मन्त्रिमण्डलमा आफ्नो हिस्सा खोज्ने देखिन्छ । समानुपातिकतर्फको भागबण्डा हुन बाँकी रहेकाले त्यसबाट छानिएर आउने अनुहारहरूले पनि मन्त्रीको दाबी पेश गर्ने भएकाले माओवादीमा यसको व्यवस्थापन निकै जटिल हुने अनुमान गरिएको छ ।
नयाँ संविधानअनुसार केन्द्रमा २५ जनासम्म मन्त्री बनाउन पाइन्छ । १५ मन्त्रालयमध्ये माओवादीको भागमा ३५ देखि ४० प्रतिशत पर्ने मन्त्री पर्ने सम्भावना छ । मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री समेत गरेर माओवादी केन्द्रले १० मन्त्री पाउन सक्छ ।












प्रतिक्रिया