१ कार्तिक २०८३, आइतबार

रानीपोखरी पुनर्निर्माणबारे मेयर शाक्यले भने- सम्पदाको संरक्षण गर्दै पर्यटक लोभिने ठाउँ बनाउँछु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । रानीपोखरी पुनर्निर्माणका विषयमा विभिन्न खाले चर्चा चलिरहेका बेला काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने अनावश्यक खालका विवाद झिकेर पुनर्निर्माणमा अवरोध नगर्न आग्रह गर्नुभएको छ । उहाँले रानीपोखरी पुनर्निर्माणको आयोजना आफू निर्वाचित हुनु भन्दा अघिकै भएको भन्दै सम्पदा नमासिने गरी जति सक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

‘पुरात्व विभाग, पुर्ननिर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिज्युले रानीपोखरी पुर्ननिर्माणको शिल्यान्यास गर्नुभएको हो,’ मेयर शाक्यले भन्नुभयो, ‘यो योजना पहिलाकै भएकाले मैले डिजाइनमा केही सामान्य हेरफेर गरेर पहिलाकै अनुरुप पुर्ननिर्माण गर्न निर्देशन दिएको छु । अनावश्यक विवाद झिकेर काममा अवरोध गर्नुको कुनै औचित्य छैन । पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै पुनर्निर्माणको काम अघि बढेको छ ।’

उहाँले पुरातत्वविदहरुले अनावश्यक ढंगले काममा अवरोध गर्ने प्रयास गरेको समेत आरोप लगाउनुभयो । ‘मैले पुरातत्वविदहरु पटक–पटक सल्लाह गरेको छु,’ मेयर शाक्यले भन्नुभयो, ‘सबै त भन्दिन केही पुरातत्वविदहरुले मसँग एउटा अनि बाहिर र मिडियासँग अर्को कुरा गरेर आफूलाई लोकप्रिय बनाउन खोजेकाले समस्या भएको छ ।’

शाक्यले शिल्यान्यासका बेला केही नभन्ने र अहिले पुर्ननिर्माणको काम अघि बढ्न थालेपछि विरोध गर्ने कुरा गलत भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘अहिले केही पुरातत्वविदहरुले रानीपोखरी भित्रै कफी सप खोल्ने तयारी भएको र सम्पदा मास्ने काम भएको भन्दै हल्ला गरेका छन्,’ उहाँले भन्नुभयो, ‘कफि सप रानीपोखरी भित्र होइन अहिले गणेशमान सिंहको शालिक भएको ठाउँ शान्तिवाटिका आसपासमा खोल्ने तयारी भएको हो ।’

उहाँले सम्पदा विग्रिने भयो भन्ने चिन्ताले भन्दा पनि आफूलाई लोकप्रिय बनाउन केहीले हल्ला गरेको भन्दै देश–विदेशबाट नेपाल घुम्न आएका पर्यटकलाई समेत लोभ्याउने र पर्यटकीय स्थलका रुपमा रानीपोखरीको विकास गर्ने जानकारी दिनुभयो । ‘रानीपोखरीमा वाटर फाउन्टेन राख्छौँ । यो पोखरीलाई रमणीय र सुन्दर पार्कका रुपमा संरक्षण र विकास गर्छौ,’ उहाँले भन्नुभयो, ‘सकेसम्म रत्नपार्कको बीचको बाटोलाई पनि बैकल्पिक बाटो बनाएर यो रानीपोखरीको क्षेत्रलाई रत्नपार्कसम्म जोड्ने योजना छ ।’

उहाँले आफू काठमाडौँ महानगरपालिकाको वडाध्यक्ष भएकै बेला तत्कालिन मेयर केशव स्थापितले रानीपोखरी छेउमा रहेका घर र टहरा भत्काएर शान्तिवाटिका निर्माण गरेको स्मरण गराउँदै भन्नुभयो–‘अब यो क्षेत्रलाई अझ सुन्दर र रमणीय बनाउँने हो । रानीपोखरी घुम्न आउनेले ठमेलमा गएर कफि खाने वा ट्वाइलेट गर्न पनि त्यतैतिर जाने कुरा हुँदैन । सबैथोकको सुविधासहितको व्यवस्था गर्छौ ।’

उहाँले रानीपोखरी पुर्ननिर्माणका क्रममा कंक्रिट हालिएको भन्दै पुरातत्वविदहरुले आपत्ति जनाएको प्रति संकेत गर्दै भन्नुभयो । ‘रानीपोखरीमा पानी अड्याउने व्यवस्था त हुनु पर्यो नि ? अझै पनि मैले छलफल गरिरहेको छु । जसो गर्दा समस्या कम हुन्छ । त्यसैगरी गर्ने हो ।’

मेयर शाक्यले रानीपोखरीलाई प्रताप मल्लले बनाएका हुन् भनेर त्यस्तै अवस्थामा छाड्ने नभई सम्पदाको संरक्षण गर्दै समय सापेक्ष बनाउने पनि दाबी गर्नुभयो । उहाँले सम्पदाविदहरुसँग अझै पनि महानगर छलफल गर्न तयार रहेको भन्दै छलफलमा बस्दा एउटा र बाहिर अर्को कुरा नगर्न सुझाव दिनुभयो ।