काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । ओलीलाई कांग्रेसका संस्थापक नेताद्वय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग तुलना गर्दै देश विकास र समृद्धिको नेतृत्व लिन आह्वान गरे ।
कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को ९४ औं जन्मजयन्तीको अवसरमा शनिवार ललितपुरको बाँडेगाउँस्थित आश्रममा आयोजित समारोहमा कांग्रेस नेता प्रदीप गिरीले ओलीमा कांग्रेसका संस्थापक नेताद्वय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको धेरै गुन देखेको भन्दै कांग्रेसको सपना अब ओलीले पूरा गर्ने विश्वास व्यक्त गरे ।
‘यो किसुनजीका सादगी गुणहरुको सम्झना गर्ने कार्यक्रम हो, तथापि म आजको समयका सर्वाधिक शक्तिसाली नेता नेपाल कम्युुनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर हेरेर मेरा कुरा सुरु गर्छु’ गिरीले भने, ‘उहाँ अबको नेपालमा श्री ३ जतिकै शक्तिशाली नेता त हुँदै हो, उहाँसँग म किसुनजी र गणेशमानजीका धेरै गुणहरु देखिरहेको छु ।’
गिरीले वेष्टन चर्चिलको भनाई उद्धृत गर्दै ओलीले लामो समय जेल बस्दा धेरै अध्ययन गरेको सुनाए । कुशल प्रशासक र अध्यात्मका दुवै गुणहरु भएकाले ओलीको दिग्विजय भएको पनि गिरीको भनाई थियो । चुनावअघि कम्युनिस्ट पार्टीले जिते अधिनायकवाद आउँछ भन्ने कांग्रेसका नेताहरुले भाषण गरिरहेका बेला आफूले त्यसको प्रतिवाद गरेको बताउँदै उनले ओलीलाई फूलजस्तो कोमल ब्यवहार गर्न सुझाव दिए ।
‘आजको समयका सबैभन्दा अग्ला नेता ओलीजीलाई म सोध्न चाहन्छु– अब कांग्रेसप्रति तपाईंको ब्यवहार कस्तो हुन्छ, हामी त प्रतिपक्षमा बस्छौं, तपाईंका काम हेर्छौं । मलाई लाग्छ तपाईंसँग कुशलता छ, त्यो हेरिरहन्छौं ।’
यसअघि बोल्ने वक्ता वरिष्ठ संस्कृति विद् जगमान गुरुङले पनि किसुनजीको भन्दा ओलीकै बढि चर्चा गरेका थिए । गुरुङले ओली अब कुनै पार्टी विशेषको नेता नभई राष्ट्रको नेता भएको बताए । त्यस्तै, स्वामी आनन्द अरुणले पनि किसुनजीको जन्मजयन्तीमा ओलीको प्रशंसा गरे ।
















प्रतिक्रिया