१ कार्तिक २०८३, आइतबार

स्थानीय तहमा बैंकिङ सेवा नपुग्दा विकास निर्माण कार्यमा बाधा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रबिना बोहरा
बाग्लुङ, ७ पुस । स्थानीय तहको गठन पछि गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ सुविधा नपुग्दा विकास निर्माणको काममा बाधा पुगेको छ । बाग्लुङका चार नगरपालिकामा बैंकहरुको प्रतिस्पर्धात्मक उपस्थिति भएपनि छ वटा गाउँपालिकामा अहिलेसम्म कुनैपनि बैंकको शाखा स्थापना हुन सकेको छैन ।

स्थानीय तहको गठनसँगै जिल्ला सदरमुकामबाट हुने आर्थिक गतिविधि स्थानीय तहबाटै हुने बताइए पनि बैंकको सुविधा नपुग्दा पुनः सदरमुकाम झर्नु परेको गाउँपालिका तथा नगरपालिकाले जनाएका छन् । तमानखोला गाउँपालिकाका लेखापाल याम थापा मगरले २० लाख रुपैयाँसम्मको बजेटका लागि बुर्तिबाङ आउनुपर्ने र त्यस भन्दा बढिका लागि सदरमुकाम नै झर्नुपर्ने बाध्यता रहेको बताए ।

विभिन्न योजनाको रकम भुक्तानी गर्न रकम तत्कालै आवश्यक पर्ने भएपनि स्थानीय बैंकले एक हप्ता अगाडीबाटै सम्पर्क गर्न आग्रह गर्दा विकास निर्माणको काममा पनि बाधा पुगेको उनले बताए । सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बजेट निकासाका लागि सदरमुकाम आउनुपर्ने भन्दै करोडौँ रुपैयाँ साथमा लिएर हिड्नु पर्दा असुरक्षित हुने गरेको उनले बताए । उनले बर्खाको समयमा गाडी नचल्ने हुँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको भन्दै काममा ढिलासुस्ती हुने गरेको गुनासो गरे ।

कतिपय स्थानमा मोबाईल नेटवर्क नहुनु, इन्टरनेट अभाव, कर्मचारी व्यवस्थापन गर्न समस्या भएको एवम् करोडौँ रुपैयाँ राख्नुपर्ने हुँदा असुरक्षित रहेकाले पनि बैंकहरु स्थानीय तहमा जान नमान्ने गरेको कतिपय बताउँछन् । बाग्लुङको निसीखोला, तमानखोला, बरेङ, ताराखोला र बडिगाड गाउँपालिकामा प्रभु बैंक र काठेखोला गाउँपालिकामा ग्रिन डेभलेपमेन्ड बैंकले इच्छा जाहेर गरेको बताइएको छ ।

काठेखोला गाउँपालिका प्रमुख अमर थापाले बित्तिय कारोबार गर्न एवम् साना योजना भुक्तानी गर्न पनि सदरमुकाम आउनुपर्ने समस्या रहेको बताए । भौगोलिक विकटताका कारण पनि बैंकहरु जान नमान्ने समस्या देखिएको उनको भनाई छ । बैंकको शाखा विस्तार भएका स्थानीय तहमा पनि राजश्वको काम नहुँदा समस्या भएको बताइन्छ । २० लाखभन्दा बढिको कारोवार गर्न सदरमुकाम आउनुपर्ने र ठुलो रकम साथमा लैजानुपर्दा जोखिम बढ्ने देखिन्छ ।

राष्ट्र बैंकले तयार पारेको सूचीमा प्रभु बैंकले बाग्लुङका पाँच स्थानीय तहमा पुस मसान्तसम्म शाखा खोल्ने तयारी गरेको प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकारी अशोक शेरचनले बताए । बैंकको शाखा विस्तार गर्न विभिन्न झन्झटिला प्रक्रिया रहेको, नेटवर्कको समस्या, बढि पैसा राख्नका लागि असुरक्षा भएपनि पुसको अन्तिम सातासम्म जिल्लाको ५ वटा स्थानीय तहमा शाखा विस्तार गर्ने तयारी गरेको उनले बताए । सरकारले चालु आर्थिक वर्षको बजेटमा सबै स्थानीय तहमा बैंक पु-याउँने घोषणा गरेको थियो । तर अहिलेसम्म बैंक विस्तार नहुँदा बढि बजेट फ्रिज हुने सम्भावना बढेको भन्दै कतिपयले चिन्ता व्यक्त गर्न थालेका छन् ।