इस्लामावाद, १२ मंसिर । पाकिस्तानले ३६ जना भारतीय बन्दी रिहा गरेको समाचार छ ।
भारतका केही मछामार्ने पेसा अंगाल्ने व्यक्ति (माझी) र नागरिक बन्दीलाई रिहा गरिदिएको समाचारमा जनाइएको छ ।
हालैका दिनमा भारत र पाकिस्तानको सीमा क्षेत्रमा जारी रहेको तनावकाबीच पाकिस्तानले गरेको यस रिहाइलाई दुई देशबीचको सम्बन्ध सुधारमा केही सहजता थपिएको महसुश गरिएको छ ।
नेपालको राजधानी काठमाडौंमा बिहीबार सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कको १८ औं शिखर सम्मेलनका क्रममा भारत र पाकिस्तानका प्रधानमन्त्रीले वार्ता भने गर्नुभएन ।
तर निकै लामो समयदेखि प्रतिक्षा गरिएको सो क्षणको तुलनामा यी दुई देशका प्रधानमन्त्रीले हात मिलाउनु भएको थियो । उहाँहरुले वार्ता नगरेपनि निकै चाखपूर्णरुपमा हात मिलाउनुभएको थियो ।
उहाँहरुले हात मिलाउनुभएको त्यस क्षण दक्षिण एसियाका सञ्चारमाध्यमको ठूलो समाचार बनेको थियो । सोही समाचारको भोलिपल्ट आज नै पाकिस्तानले गरेको बन्दी रिहाईको समाचारलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
भारत र पाकिस्तानले विभिन्न समयमा दुवै तर्फका मछुवाहरु पक्राउ गर्ने गर्छन् । कतिपय ती मछुवाहरुलाई समुद्रमा आफ्नो तर्फको सीमाना पनि थाहा हुदैन । जसले गर्दा उनीहरु पक्राउ पर्ने गर्छन् ।
पाकिस्तान सरकारले कराँची सहरमा रहेका माझी र अर्का एकजना नागरिकलाई पनि आज रिहा गरेको हो । सो समाचारलाई दुई देशको सम्बन्धसँग जोडेर प्रचार गरिएको छ । रासस/सिन्ह्वा













प्रतिक्रिया