१४ कार्तिक २०८३, शनिबार

१६ अर्ब ८६ करोड अलपत्र, अब के होला ?

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । सामाजिक सुरक्षा कोषका नाममा नागरिकबाट उठाइएको १६ अर्ब ६८ करोड रुपैयाँ अलपत्र परेको छ । कोषका नाममा सरकारले आठ वर्ष अघिदेखि उठाउँदै आएको एक प्रतिशत करको रकम कहिले कानुन त कहिले कार्यविधि अभावका कारण प्रयोगबिनै थन्किँदै आएको छ ।  राजधानी दैनिकले समाचार छापेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनको सन् १९५२ को सामाजिक सुरक्षासम्बन्धी अभिसन्धि १०२ सँग मिल्दोजुल्दो हुने गरी सामाजिक सुरक्षा क्षेत्रमा विभिन्न योजना सञ्चालन गर्न सरकारले २०६६ सालदेखि सर्वसाधारण नागरिकको पारिश्रमिकबाट एक प्रतिशत कर उठाउन सुरु गरेको थियो ।

तर, सरकारले कोष सञ्चालनसम्बन्धी नियमावली र कार्यविधि नबनाएका कारण कोषमा थुप्रिएको रकम सरोकारवालाले प्रयोग गर्न पाएका छैनन् । सर्वसाधारणको पहुँचबाहिर रहेको सो रकम अन्यत्र लगानीसमेत भएको छैन ।

सामाजिक सुरक्षा कोष शीर्षकमा अर्थ मन्त्रालयको राजस्व शीर्षक नम्बर १–१–२–१–१ खातामा झन्डै १७ अर्ब रुपैयाँ खातामा जम्मा भइसकेको छ । तर, कोष खडा गर्दाको लक्षित योजनाअनुरूप बेरोजगारी सुरक्षा, रोजगारीमा घाइते वा कार्यस्थल सुरक्षा, बिरामी सुरक्षा, औषधोपचार सुरक्षा, मातृत्व संरक्षण, आश्रित परिवारको सुरक्षा जस्ता सबै कार्यक्रम कार्यविधि अभावकै कारण सञ्चालनमा आउन सकेका छैनन् ।

सरकारले मुलुकभरका कर्मचारीबाट पारिश्रमिकमा आधारित भएर करयोग्य आयको पहिलो स्ल्याबमा एक प्रतिशत हुन आउने रकम सामाजिक सुरक्षा शीर्षकमा उठाउँदै आएको छ ।

अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रकको कार्यालयका अनुसार सामाजिक सुरक्षा शीर्षकमा अहिलेसम्म १६ अर्ब ८६ करोड ८८ लाख ४० हजार रुपैयाँ संकलन भएको छ ।

सामाजिक सुरक्षासम्बन्धी अवधारणाले पारिश्रमिक आर्जन गर्ने हरेक व्यक्तिको कुल पारिश्रमिक आयको एक प्रतिशतले हुन आउने रकम लगानी गरेर बेरोजगारी सुरक्षा, रोजगारीमा घाइते वा कार्यस्थल सुरक्षा, बिरामी सुरक्षा, औषधोपचार सुरक्षा, मातृत्व संरक्षण, आश्रित परिवारको सुरक्षा, अशक्तता सुरक्षा र वृद्धावस्था सुरक्षासम्बन्धी विविध योजना तयार पार्ने लक्ष्य लिएको थियो । यी सबै योजनालाई कोषले कार्यविधिको मस्यौदा बनाएर मन्त्रालयमा नपठाएकै कारण अलपत्र बनेको छ ।