
काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीका प्रभावशाली नेता प्रकाशमान सिंहसँग भेट गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित थापाले बुधबार काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सिंहलाई भेटेर जितको बधाई दिँदै खुसियाली साटसाट गरे ।
देशभर कांग्रेसले लज्जास्पद हार व्यहोरिरहँदा काठमाडौंमा पार्टीको साख जोगाउँदै जित हासिल गरेका यी दुई नेता फरक फरक खेमामा छन् । थापा कृष्ण सिटौला समूहमा छन् भने सिंह रामचन्द्र पौडेल समूहका नेता हुन् । तर, पछिल्लो समय यी दुबै नेताको विचार मिल्न थालेको छ पार्टी नेतृत्व परिवर्तनको सवालमा । निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएपछि गगन थापाले हस्तक्षेप गरेरै नेतृत्व लिने बताइसकेका छन् । त्यस्तै, सिंहले कांग्रेसलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने र नेतृत्व फेर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । दुबै नेताको समान धारणा आएको बेला प्रकाशमान र गगनको भेट अर्थपूर्ण मानिएको छ । चाक्सिवारी निवासमा पुगेर गगनले लौहपुरुष एवं सर्वोच्च कमाण्डर गणेशमान सिंहको तस्वीर मुनी प्रकाशमानसँग भेट गरेको तस्वीरले कांग्रेसमा तरंग ल्याइदिएको छ ।

पछिल्लो समय कांग्रेसभित्र दोस्रो पुस्ताका प्रायःजसो नेता नेतृत्व फेर्ने पक्षमा देखिएका छन् । देउवा समूहमा रहेका नेता (चन्द्र भण्डारीहरु) समेत युवाले नेतृत्व पाउनुपर्ने भन्दै आवाज उठाउन थालेपछि सभापति देउवा दबाबमा परेका छन् । संस्थापन पक्षीय केही नेताले देउवाको बचाउ गर्दै आएका छन् ।
कांग्रेसनिकट उच्च स्रोतका अनुसार पछिल्लो समय देउवाविरुद्ध पौडेल र सिटौला समूह नजिक भएका छन् । सरकार र पार्टीमा बसेर मनोमानी गर्दै एकलौटी ढंगले अघि बढेको, हरेक काममा विवादमा मात्रै पर्ने गरेको र यसबाट पार्टीलाई क्षति पुगेको भन्दै देउवासँग पौडेल र सिटौला समूह असन्तुष्ट रहेका बेला निर्वाचनमा भोगेको पराजयले दुबै समूहलाई एक ठाउँमा ल्याइदिएको हो ।
बुधबार गगन प्रकाशमानलाई बधाई दिन चाक्सीबारी पुगेको भनिएपनि उनी सिटौलाको सन्देश बोकेर त्यहाँ पुगेका थिए । गएको महाधिवेशनबाट टाढा भएका गगन र प्रकाशमान नेतृत्व फेर्ने कुराले अहिले नजिक भएका छन् । दुबै नेता आफ्ना गुटका सुत्राधार हुन् । पौडेलसँग एक हुन सिटौलाले गगनलाई अघि सारेको स्रोतले बतायो । सिटौला र गगन थापाले छुट्टै समूह बनाएका कारण नै देउवाले गएको महाधिवेशनमा पार्टी सभापति जितेका थिए । सिटौला र पौडेलबीच तीनबर्ष यता दूरी बढे पनि पछिल्ला घटनाक्रमले उनीहरु नजिक देखिएका छन् । यी दुवै समूह एक हुँदा देउवा एक्लिने पक्का छ ।















प्रतिक्रिया