काठमाडौं, ६ पुस । गुल्मी जिल्लामा एमालेका सचिव प्रदीप ज्ञवालीसँग नराम्रोसँग पराजित भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गुटको भेला गरेर पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गतिविधी गरेको खुलासा भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको गुट परित्याग गरेर देउवा समूहमा प्रवेश गरेका भण्डारी प्रतिनिधिसभामा पराजित भएपछि फेरि देउवाविरुद्ध सक्रिय भएको आरोप लागेको छ । चण्डारीका उक्साहटमा भेलामा आएका युवा नेताहरूले सभापति पदबाट देउवालाई हटाएर नेतृत्व दोस्रो पुस्ताले लिनुपर्ने धारणा राखेका थिए ।
बुधबार काठमाडौंमा कांग्रेसका भातृसंगठनका अध्यक्ष र केही युवा नेताहरूको भेला बोलाएर भण्डारीले देउवाविरुद्ध उचालेको स्रोतको भनाइ छ । ‘पार्टी शुुद्धीकरणका लागि बहसको नाम दिएर पार्टी सभापति विरुद्ध चन्द्र भण्डारी लाग्नु भएको छ’, स्रोतले भन्यो, ‘एमाले र माओवादीसँग मिलेर ५ नं. प्रदेशबाट पहाडी जिल्ला हटाउन नमान्ने । अहिले पराजित भएपछि सभापति विरुद्ध लाग्न मिल्छ ?’
भेलामा भण्डारीले पार्टी सुदृढीकरण पहिलो प्राथमिकता रहेको बताएका थिए । उनले भनेका छन्, ‘हामी सबैको एउटै मत छ । हामी पार्टीलाई पुनर्जीवन दिन्छौं ।’
भण्डारीसहितका युवा नेताहरू पार्टी सभापति विरुद्ध लागेपछि देउवाले उनीहरूप्रति कुनै गुनासो नरहेको आफू निकटका नेताहरूसँग बताएका छन् । ‘टिकट पाइन भनेर झगडा गर्ने । टिकट दिएपछि आफै पराजित हुने । हारेपछि मलाई गाली गर्ने ?’, देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘चन्द्र भण्डारीहरू एमाले र माओवादीसँग मिलेर बुटवलमा आन्दोलन गरेका होइनन् ? हारेपछि मलाई किन गाली गर्ने ?’
अर्का नेता धनराज गुरुङले पार्टी सक्षम र सुदृढ बनाउन जनविश्वास आवश्यक रहेको भन्दै आफूहरूले विश्वासको मत जुटाएरै छाड्ने बताए ।
भेलामा चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, उमा रेग्मी, नयनसिंह महर, बद्री पाण्डेसहितका एक दर्जन बढीको सहभागिता रहेको थियो ।















प्रतिक्रिया