काठमाडौं, ५ पुस । भर्खरै सम्पन्न निर्वाचनमा दुईतिहाई बहुमत ल्याएसँगै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्य सुरु भएको छ ।
आगामी ५ वर्षका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा एमालेबाट १५ र माओवादी केन्द्रबाट १० गरेर कुल २५ मन्त्री बन्नेछन् । यसकारण नयाँ सरकारका लागि एमालेमा मन्त्रीको खोजी सुरु भएको छ । कसलाई के मन्त्रालय दिने विषयमा एमालेमा छलफल सुरु भएको हो ।
एमालेबाट महासचिव ईश्वर पोखरेल उपप्रधानमन्त्रीका साथै गृह वा परराष्ट्रमन्त्री बन्ने सम्भावना छ । यसैगरी, मन्त्रीको प्राथमिकतामा घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, खगराज अधिकारी, जगत विश्वकर्मा, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल, लालबावु पण्डित, रघुवीर महासेठ, छविलाल विश्कर्मा, पद्मा अर्याल, रामवीर मानन्धर, गणेश ठगुन्ना लगायतको नाम अग्रपंतिमा समेटिएको छ ।
युवा नेताहरु गोकुल बास्कोटा र महेश बस्नेतको नाम पनि चर्चामा छ । स्रोतका अनुसार भावी प्रधानमन्त्री ओलीले नयाँ सरकारमा क्षमतावान र अनुभवीलाई प्राथमिकता दिने तयारी गरेका छन् । भुगोल, जाति र समुदायको प्रतिनिधित्व मिलाउने गरी मन्त्रीको चयन गर्न गृहकार्य जारी छ ।















प्रतिक्रिया