काठमाडौं, ४ पुस । आम निर्वाचनमा प्रदेश र प्रतिनिधि सभामा बामपन्थी गठबन्धनको सामान्य बहुमत नै आएका कारणले नयाँ सरकार एमालेको नेतृत्वमा बन्ने निश्चित भइसकेको छ ।
आगामी प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली नै हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताइसकेका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
तर, गठबन्धनमा खटपटको अवस्था आएर विभक्त हुने परिस्थितिमा एमालेबाहेकको सरकार सम्भव हुनेगरि जनताको मत आएको छ । एमालेको विकल्पमा पनि केन्द्र सरकार बन्नसक्ने छ ।
प्रत्यक्ष र समानुपातिक मतगणनाको अन्तिम नतिजाले संघीय संसदको ठूलो दल नेकपा एमाले बाहेकलाई पनि जनताले बहुमतमा उभिने आधार दिएका हुन् । केही स्वतन्त्र सांसद बाहेक नेपाली कांग्रेस, मधेस आधार क्षेत्रका राजनीतिक दल र माओवादीको गठबन्धन बने त्यसले सरकार बनाउने साधारण बहुमत पुराउन सक्ने देखिन्छ ।
२७५ सदस्य रहने संसदमा एमाले समानुपातिकसहित १२१ को संख्यामा छ । त्यसबाहेकका कांग्रेस, माओवादी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीसहित केही स्वतन्त्र सांसदसहितको गठजोड बने उसको संख्या १५४ पुग्छ । जुन सरकार गठनका लागि स्पष्ट बहुमतभन्दा बढि हुन्छ ।
समानुपातिकतर्फको सिटसमेत जोड्दा प्रतिनिधिसभामा कांग्रेसको ६३, माओवादीको ५३, राजपाको १७ र फोरमको १६ सिट हुने देखिन्छ । त्यसबाहेक प्रतिनिधिसभामा राप्रपा १, नयाँ शक्ति पार्टी १, राष्ट्रिय जनमोर्चा १, नेमकिपा १ र स्वतन्त्र १ गरी ५ जनाको उपस्थिति रहनेछ । स्वतन्त्रबाहेक पनि चार दलको गठजोडमा कम्तिमा एक सय ४९ सदस्य रहनेछन् जसले सरकार गठनमा सहजता ल्याउनेछ ।
०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी ठूलो दल रहँदा समेत उसको नेतृत्वको सरकार गिरेपछि एमाले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सामान्य बहुमतले काम गरेको थियो । जुन सरकार २४ महिना टिकेको थियो । एमालेले बामपन्थी गठबन्धनमा नेकपा माओवादी केन्द्रलाई पार्टी र सरकारको जिम्मेबारीका विषयमा तलमाथि गर्ने वा दबाब दिने परिवेश आएको खण्डमा फरक गठबन्धन बन्न सक्ने संकेत पनि देखिएको छ ।
एकीकरणका लागि कार्यदल बनाएका दुवै दलबीच सरकार र पार्टी एकता सँगसँगै लैजाने प्रस्ताव माओवादीले गरेको छ । तर, एमालेले अहिले त्यसमा चासो नदेखाएको र नेताहरूले एकीकरणका क्रममा शक्ति बाँडफाँटको विषयलाई प्रधान बनाउन नहुने दाबी गरिरहेका कारणले गठबन्धनमा समस्या आउनसक्ने देखिन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी अध्यक्ष, प्रधानमन्त्री एउटै मान्छे हुने संकेत गर्दै त्यसमा आफूलाई स्थापित गराउने प्रयत्नको संकेत दिइरहेका बेला ओलीको मतबारे महासचिव इश्वर पोखरेलले खुलस्त पार्दै गठबन्धनको साझेदार माओवादीले अहिले नै समानान्तर शक्तिको हैसियत नराख्ने बताइसकेका छन् । यसले गठबन्धन बनाउँदै चुनावमा भाग लिएपनि पार्टी एकीकरणमा समस्या देखिएको छ ।
यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट स्रोतका अनुसार एमालेले दम्भले पेल्ने कोशिश गरे उसका लागि प्रत्युत्पादक हुनसक्ने जनाएको छ । स्रोतले भन्यो,‘माओवादीका लागि समस्या छैन, बामपन्थीको ध्रुवीकरण र एकताको प्रस्ताव हामीले गरेका हौं । चुनावी परिणामका आधारमा एमालेको अहंकारको प्रभाव पार्न खोजे उसका लागि घाटा छ । तर, एकताका क्रममा शक्ति सन्तुलनको विषयमा सहमति हुनेमा म विश्वस्त छु ।’
राष्ट्रिय सभाका सन्दर्भमा एक ठाउँ उभिएका बामघटकको विभाजन सम्भवजस्तो देखिएको छैन । यो गठबन्धनले नयाँ सरकार निर्माण गरी अघि बढ्ने र त्यसमा भारतीय पक्षको पनि सहयोग रहने संकेत मिलिसकेको छ । बरू भारतीय दबाबमा मधेसवादी दलहरूले पनि सरकारलाई समर्थन गरी २ तिहाईभन्दा बढिले कसिलो बनाउनसक्ने संकेत मिलेको हो ।












प्रतिक्रिया