१४ कार्तिक २०८३, शनिबार

यी दुई राष्ट्रिय दलमा महिलाहरूलाई खुसीको बहार

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । प्रतिनिधिसभा सदस्यमा समानुपातिक सिटमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले महिलालाई मात्रै पठाउनुपर्ने देखिएको छ ।

कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कम्तीमा ३३ प्रतिशत (९२ जना) महिला हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण राजपा र संघीय फोरमले पाउने समानुपातिक सिटमा महिला मात्रै पठाउनुपर्ने देखिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

प्रतिनिधिसभा प्रत्यक्षतर्पmको १ सय ६५ सिटमा राजपाले ११ र संघीय फोरमले १० सिट जितेको छ । तर, दुवै दलबाट जित्ने उम्मेदवार सबै पुरुष छन् । तर, उनीहरूले पाउने सिटमा लैंगिक सन्तुलन मिलाउन सबै महिला प्रतिनिधि पठाउनुपर्ने देखिएको छ ।

संघीय फोरम र राजपाले पनि प्रत्यक्षतर्फ कुनै पनि महिलाले निर्वाचन जितेका छैनन् । जसकारण संघीय फोरम र राजपाले समानुपातिकमा पाउने सबै सिटमा महिला पठाउनुपर्ने देखिएको हो ।

संघीय फोरमले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ १ सय ९ जनाको सूची बुझाएको छ । जसमा आदिवासी जनजातितर्फ रेनुका गुरुङ, सुशीला श्रेष्ठ र सुनी लामाको नाम क्रमशः पहिलो दोस्रो र तेस्रो नम्बर छ । आदिवासी जनजाति महिला उम्मेदवार संख्या १७ छ ।

यसैगरी, खस आर्य महिलातर्फ पहिलो दोस्रो र तेस्रो नम्बरमा क्रमशः सरिता गिरी, लीला सिटौला र चन्द्राकुमारी कार्कीको नाम छ । थारू महिलातर्फ रीता चौधरी, लीलाकुमारी चौधरी र करिताकुमारी माझी थारू पहिलो दोस्रो र तेस्रो नम्बरमा छन् ।

त्यस्तै, दलित महिलातर्फ कलुदेवी विश्वकर्मा, सावित्रा विक र गोमा परियारको नाम क्रमशः छ । मधेसी महिलातर्फ रेणुकुमारी यादव, रेखा यादव र रीता अग्रवालको नाम पहिलो दोस्रो र तेस्रो नम्बरमा परेको छ । रेणुकुमारी यादव पार्टीका एक मात्र महिला उपाध्यक्ष हुन् । यस समूहमा नौ महिलाको नाम राखिएको छ । मुस्लिम महिलाको सूचीमा भने रुही नाज, सहनाज रहमान र मञ्जु शर्मा अन्सारी क्रमशः रहेका छन् । राजपाले भने कुल ९३ जनाको नाम मात्रै समानुपातिकमा राखेको छ ।

राजपाले आदिवासी जनजाति महिलातर्फ रानी मण्डल, अमृता अग्रहरी र सलमा खातुनलाई क्रमशः पहिलो दोस्रो र तेस्रो नम्बरमा राखेको छ । राजपाले यस समूहमा १५ महिलाको नाम राखेको छ । खस आर्यतर्फ नरमाया ढकाल, निर्जला राउत र कुमारी रेणु शर्मालाई पहिलो तहमा राखेको छ । थारू महिलामा भने सरिता चौधरी, शोभा थारू र ललिताकुमारी चौधरी पहिलो दोस्रो र तेस्रो नम्बरमा परेका छन् । दलित महिलामा भने दुलारीदेवी खंग, मालादेवी पासवान र शान्तिदेवी रामको नाम समानुपातिकको सूचीमा क्रमशः रहेको छ ।

मधेसी महिलातर्पm भने चन्दा चौधरी, इन्द्रा झा र किरणकुमारी राय क्रमशः रहेकी छन् । मुस्लिम महिला समूहमा चुन्नी खातुन, खातुन राई र तविन्दा सइत क्रमशः पहिलो दोस्रो र तेस्रो नम्बरमा परेका छन् । समानुपातिक मतगणना नतिजाअनुसार एमालेले ४१, कांग्रेसले ४० र माओवादी केन्द्रले १७ सिट पाउनेछन् ।

प्रत्यक्षमा ८० सिट जितेको एमालेले ३९ महिला समानुपातिकबाट पठाउनुपर्ने देखिएको छ । यस हिसाबले आकांक्षी व्यवस्थापन गर्न एमालेलाई समेत कठिन पर्ने देखिन्छ । प्रत्यक्षमा ३६ सिट जितेको माओवादी केन्द्रले १५ महिला पठाउनुपर्नेछ । माओवादीबाट प्रत्यक्षतर्फ तीन महिलाले चुनाव जितेका छन् ।

एमाले र माओवादीको तुलनामा कांग्रेसलाई केही सहज देखिएको छ । उसले प्रत्यक्षमा २३ सिट जितेको छ । समानुपातिकमा उसले ४० सिट पाउने देखिएको छ । कांग्रेसले कुल ६३ सिटमा २१ महिला पठाउनुपर्नेछ ।कांग्रेसबाट प्रत्यक्षतर्फ कुनै पनि महिला उम्मेदवारले जितेका छैनन् । एमालेबाट दुई महिला विजयी छन् ।