काठमाडौं, २ पुस । प्रथम इसिन कान क्योकुसिन कराते एसियन कप– २०१७ काता च्याम्पियनसिपमा पदक जित्न सफल तीन खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् ।भारतको कोलकातामा भएको प्रतियोगितामा नेपाललाई १ स्वर्ण र २ कांस्य पदक दिलाएका आफ्ना खेलाडीलाई इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल संघ (आईएफकेके) ले उनीहरुलाई नगदसहित सम्मान गरेको हो ।
नोभेम्बर १८ तारिखमा भएको उक्त प्रतियोगिताको एकल कातामा ज्ञानबहादुर तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए । उनलाई संघका अध्यक्ष श्याम थापाले पूर्व घोषणा गरे बमोजिम व्यक्तिगत २५ हजार नगद पुरस्कार प्रदान गरे ।
त्यस्तै एकल कातामै डिककुमार प्रधान र मिक्स कातामा एलेन्स पौडेलले कांस्य जितेका थिए । उनीहरुलाई संघका पदाधिकारीहरु मिलेर समान ५–५ हजार नगद पुरस्कार दिए ।
संघका अध्यक्ष थापा तथा उपाध्यक्षद्वय दामोदर नेपाल र घनश्याम श्रेष्ठले खेलाडीलाई सम्मान पत्र र नगद प्रदान गरी सम्मान गरे । टोलीका प्रशिक्षक एवं नेपालका लागि ब्रान्च चिफ प्रेमबहादुर तामाङ पनि सोही अवसरमा सम्मान पत्रबाट सम्मानित भए ।
सुक्दिकीलाई दोहोरो स्वर्ण
वीर अस्पतालकी सुक्दिकी शेर्पाले प्रथम नर्सेस एथलेटिक्स मिटमा शनिबार दोहोरो स्वर्ण जितेकी छिन् । सुक्दिकीले १ सय र ४ सय मिटर दौडमा स्वर्ण जितेकी हुन् । सुक्दिकीले २.५ किलोमिटर दौडमा पनि थप १ कांस्य जित्दै व्यक्तिगत पदक संख्या तीन पु-याइन् ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको १ सय मिटर दौड सुक्दिकीले १७.९८ सेकेन्डमा पूरा गरिन् । पाटन अस्पतालकी कोकिला राउत दोश्रो तथा सविना महर्जन तेश्रो भए ।
४ सय मिटर दौड सकाउन सुक्दिकीले १ मिनेट २८.७२ सेकेन्ड समय खर्चिन् । एमसीभीटीसीकी दीपिका राईले रजत तथा नेपाल क्यान्सर अस्पतालकी युमा राईले कांस्य हात पारे ।
डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको २ सय मिटर दौड ३७.५६ सेकेन्डमा पूरा गर्दै अल्का अस्पतालकी सरस्वती पहिलो भइन् । पाटनकी कोकिला दोश्रो तथा ओम अस्पतालकी सीता धामी तेश्रो बने ।
२.५ किलोमिटर दौडमा एमसीभीटीसीकी दीपिका राईले स्वर्ण, नेपाल प्रहरी अस्पतालकी खुशी हिराचनले रजत र वीरकी सुक्दिकीले कांस्य जिते ।
४ गुणा १ सय मिटर रिलेमा अल्का, नेपाल क्यान्सर र ब्लु क्रस अस्पतालले क्रमशः शीर्ष तीन स्थान भित्र दौड टुंगाए ।
रिले बाहेक सबै स्पर्धामा शीर्ष तीन स्थानमा आउनेले क्रमशः ५ हजार, ३ हजार र २ हजारका दरले नगद पुरस्कार पाए । रिलेको विजेताले १० हजार, उपविजेताले ७ हजार र तेश्रो हुनेले ३ हजार नगद पुरस्कार हात पारे ।
ब्लु क्रसको आन्तरिक १ सय मिटर दौडमा राजन थापा पहिलो भए । उनले निर्धारित दूरी १६.४८ सेकेन्डमा तय गरे । पोखरीप्रसाद ढकाल दोश्रो र सन्दिप रन्जितकार तेश्रो भए ।
विजेतालाई आयोजक फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने मिटमा विभिन्न ९ अस्पतालका २ सय १९ नर्सले सहभागिता जनाएको फाउन्डेसनका महासचिव रजत श्रेष्ठले जनाएका छन् ।
जीवनलाई स्वर्ण
जीवन लुहारले पाँचौं राष्ट्रिय गोर्खा खुकुरी मार्सल आर्ट च्याम्पियनसिपको पुरुष ४५–४९ केजी तौलसमूहमा शनिबार स्वर्ण जितेका छन् । मनमैजुमा भएको प्रतियोगिताको फाइनलमा जीवनले सन्जेन केसीलाई पराजित गरे ।पुरुष २१–२५ केजीमा रिजुल कार्की, २५–३० केजीमा रोहित थापा, ३१–३५ केजीमा सलोन तामाङ तथा ४०–४५ केजीमा सुमन तामाङले पहिलो स्थान हात पारे । रिजुलले समिर तामाङ, रोहितले रमित गुरुङ, सलोनले प्रवीण तामाङ र सुमनले ऋदेश श्रेष्ठलाई फाइनलमा हराए ।
महिला २०–२५ केजीमा सुमिना तामाङले श्रृया केसी, २५–३० केजीमा काजल केसीले गरिमा कुँवर, ३२–३६ केजीमा प्राप्ती गुरुङले ममता खत्री, ४०–४५ केजीमा सुष्मा लोप्पा मगरले अन्जु सुनवार तथा ५०–५५ केजीमा रविना घर्ती मगरले सोनु तामाङलाई फाइनलमा पाखा लगाउदै स्वर्ण चुमे ।
सिनियर खुला काताको महिलामा सचिता बुढाथोकी पहिलो तथा महिमा तामाङ दोश्रो भए । सोही स्पर्धाको जुनियर महिलामा लक्ष्मी तामाङले स्वर्ण तथा सुमन तामाङले रजत हात पारे ।
आर्मीकी प्रतिज्ञा र ज्ञानीलाई स्वर्ण
नेपाल आर्मीकी प्रतिज्ञा भण्डारी र ज्ञानी चुनाराले ८ औं कोरियन एम्बासडर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार स्वर्ण पदक जितेकी छन् । नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दूतावासको संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको महिला ७३ केजीमा प्रतिज्ञा र ज्ञानीले ६२ केजी तौलसमूहमा स्वर्ण जिते ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा भएको ७३ केजीको फाइनलमा प्रतिज्ञाले आर्मीकै मौसम कार्कीलाई पराजित गरिन् । सोही तौलमा एपिएफकी अप्सरा कार्की र सल्लाघारीकी करुणा श्रेष्ठले कांस्य जिते । ६२ केजीको फाइनलमा राष्ट्रिय टिमकी ज्ञानीले ललितपुरकी सिवानी श्रेष्ठलाई स्तब्ध बनाइन् । सो तौलमा आर्मीकी मन्दिरा कार्की र धादिङकी अनिता घलले कांस्य जिते ।
त्यस्तै महिला ४६ केजी तौलमा राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी पुलिसकी रेजिना कार्कीले एपिएफकी वर्षा थापालाई हराउँदै स्वर्ण जितिन् । सोही समूहमा एपिएफकी संगीता श्रेष्ठ र आर्मीकी कुसमनी चौधरीले कांस्य पदक जितिन् । ४९ केजीमा आर्मीकी काजल श्रेष्ठले एपिएफकी अस्मीता खड्कालाई हराउँदै स्वर्ण जित्न सफल भइन् ।
सो तौलमा आर्मीकी कल्पना चौधरी र बीनीका जोशीले तेस्रो स्थान हात पारिन् । ५३ केजीमा पुलिसकी निमा गुरुङले ललितपुरकी दीक्षा कार्कीलाई हराउँदै स्वर्ण जित्दा आर्मीकी मुस्कान र नुवाकोटकी सबीता पुडासैनीले कांस्य जिते ।
महिलातर्फ ५७ केजी तौलमा पुलिसकी सीता तामाङले आर्मीकी नम्रता तुलाधरलाई हराउँदै स्वर्ण जितिन् । सो तौलमा आर्मीकी रेश्मा थापा र एपिएफकी गीता बिस्टले कांस्य पदक जिते । ६७ केजी तौलमा एपिएफकी संगीता बस्यालले एपिएफकै अनुमाया तामाङलाई पराजित गर्दै स्वर्ण जित्न सफल भइन् ।
उक्त तौलमा आर्मीकी पुजन विष्ट र ललितपुरकी दीपीक नगरकोटीले कांस्य पदक हात पारे । सिनियर पुरुषको ५४ केजी तौलको सेमिफाइनलमा पुलिसका मनोज मल्लले आर्मीका विकास राईलाई तथा एपिएफका चन्द्र रानामगरले मकवानपुरका विवेक माझिलाई हराउँदै स्वर्ण पदकका लागि यात्रा तय गरेका छन् ।
जुनियर पुरुषतर्फ ४२ केजीमा सीतापाइलका विधान श्रेष्ठ र कोटेश्वरका श्रीकृष्ण कार्की, ४५ केजीमा युनाइटेडका पुजन खड्का र कोटेश्वरका दिनेशबहादुर साउद तथा ४८ केजीमा ललितपुरका साहील थापामगर र दीलिप स्मृतीका शिव श्रेष्ठले अन्तिम चारको यात्रा तय गरेका छन् । ५९ केजीमा ब्रेनल्यान्डका सुरज सिन्तान र दीलिप स्मृतिका कपिल थापाले फाइनलमा प्रतिस्पधा गर्नेछन् ।















प्रतिक्रिया