काठमाडौं, २ पुस । एमाले अध्यक्ष केपी ओलीले असंवैधानिक रूपमा नियुक्त प्रदेश प्रमुखहरूबाट शपथग्रहण नलिने घोषणा गरेका छन् । सरकारले प्रदेश प्रमुखको नियुक्ति गर्ने अन्तिम तयारी गरिरहेका वेला शनिबार ओलीले त्यस्तो घोषणा गरेका हुन् ।
‘बहुमत हामीले ल्याएका छौँ, असंवैधानिक रूपमा नियुक्त हुनेबाट हामी शपथग्रहण गर्दैनौँ,’ शनिबार बालकोटस्थिति निवासमा सञ्चारकर्मीसँग ओलीले प्रश्न गर्दै भने, ‘हामीले ताजा जनादेश स्विकार्ने हो, के कांग्रेसले जे पायो त्यही गरेको भागबन्डा अब पनि हामीले स्विकार्नुपर्ने ? कांग्रेसले हारेपछि के अब लोकतन्त्र नै चल्न नदिन खोजेको ?’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
राष्ट्रिय सभा गठनसम्बन्धी छुट्टै व्यवस्था भएकाले प्रतिनिधिसभाको परिणाम सार्वजनिक नगरी बलजफ्ती सरकार गठन रोक्ने कुरा पदलोलुपता, निर्लज्जता र अलोकतान्त्रिक अभ्यासको निकृष्ट अभ्यास भएको ओलीले बताए । ‘त्यस्तो निकृष्ट अभ्यास नगर्न म सबैलाई भन्न चाहन्छु,’ ओलीले भने, ‘०६४ मा हार्दा पनि तीन–चार महिनासम्म कांग्रेसले यस्तै घिनलाग्दो खेल खेल्यो, अहिले पनि सत्ता हस्तान्तरण नगर्न अनेक प्रयास हुँदै छ ।’
आयोग कसैको ट्विटका पछाडि कुद्ने होइन
ओलीले निर्वाचन आयोगले जिम्मेवार बनेर संवैधानिक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै सचेत बन्न आग्रह गरे । ‘म निर्वाचन आयोगलाई भन्न चाहन्छु, तपाईंहरू कसैका ट्विटका पछाडि कुद्ने होइन, कानुनको पछाडि कुद्नुस्, लोकतन्त्रको सम्मान गर्नुस्, सही भूमिका खेल्नुहोस्,’ उनले भने ।
कांग्रेसले आफ्नो बाटो लेओस्
कांग्रेसले बलजफ्ती ढंगले लोकतान्त्रिक प्रक्रिया अवरुद्ध गर्न खोजेको भन्दै ओलीले घृणीत खेल नखेल्न चेतावनी पनि दिए । ‘हामी धेरै संघर्ष गरेर यहाँसम्म आएका हौँ, यदि कांग्रेसले लोकतन्त्र नै कार्यान्वयन हुन नदिन खोजेको हो भने आफ्नो बाटो लेओस्,’ ओलीले भने, ‘बहुमत ल्याएको दलसँग कुनै परामर्श गर्नु नपर्ने, राष्ट्रिय सभामा कांग्रेसको सांसद हुनैपर्ने अध्यादेश हामीले स्विकार्दिनुपर्ने?’












प्रतिक्रिया