– रबिना बोहरा
बाग्लुङ, १ पुस । राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले जनतालाई आर्थिक रुपमा सम्पन्न गराउनका लागि व्यापार गर्न प्रोत्साहित गर्नु पर्नेमा जोड दिएका छन् । व्यापार बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङको पाचौ वार्षिक साधारणसभाको शनिबार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताएका हुन् ।
‘व्यापार भनेको पसल थापेर गरिने कपडा, खाद्यान्न, सिमेन्टलगायतको मात्रै होइन’ उनले भने, ‘सहकारीका प्रत्येक सदस्यले आफुसँग जे उत्पादन हुन्छ, जे संभावना छ, त्यसैको व्यापार गर्नु पर्छ ।’ जिसीले थपे, ‘व्यापार भनेको आफुसँग भएको वस्तु विक्री गर्ने र आवश्यक वस्तु खरिद गर्ने हो ।’
रेमिट्यान्स आएको पैसाले विदेशबाट आएको सामान खरिद गरेर उच्च स्तरको जीवन जिउने अवस्थाको अन्त्यका लागि उत्पादन बढाउन, उत्पादित वस्तुको बजारीकरण गर्न तथा स्थानीय स्रोतको प्रशोधनमा सहकारी क्षेत्रले ध्यान दिनु पर्नेमा जिसीको जोड थियो । सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई उत्पादनमा सक्रिय बनाउने, उत्पादित वस्तुको बजारीकरण गरेर आयआर्जनमा बृद्धि गर्ने, आयआर्जन गरेको रकम वचत गर्ने र थप आयआर्जनका लागि परिचालन गर्न प्रोत्साहित गर्नु पर्ने भन्दै उनले खेर गैरहेका वस्तुहरुको सदुपयोग गरेर थप आम्दानी गर्न र खचै कटौती गरेर वचत गर्न सहकारीका शेयर सदस्यहरुलाई आग्रह गरे ।
सहकारी संघसंस्थाहरु आर्थिक कारोवारमा मात्रै केन्द्रित नभई विभिन्न सचेतनामुलक तथा सीपमुलक क्रियाकलाप सञ्चालन गर्न पनि उनले आग्रह गरे । नयाँ ऐनका बिषयमा जानकारी गराउदै उनले ऐनमा उल्लेख भएका सकारात्मक कुरालाई कार्यान्वयन गर्न र सुधार गर्नु पर्ने विषयमा सुधारका लागि समन्वय गर्नु पर्ने बताए ।
कार्यक्रममा संस्थाका संरक्षक युगेश्वर ओझा, कपडा तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष भोजराज रेग्मी, शेयर सदस्य दलबहादुर कार्की र रञ्जना श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका सचिव गोकुल कँडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष चन्द्रकान्त पौडेलले आर्थिक प्रतिवेदन र लेखा संयोजक इन्द्रमणी पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।















प्रतिक्रिया