– शिशिर सिंखडा
सौराहा (चितवन), १ पुस । चितवनको सौराहामा आगामी पुस ११ देखि १५ गतेसम्म १४ औँ चितवन हात्ती महोत्सव हुने भएको छ । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुने महोत्सवमार्फत सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने लक्ष्य लिइएको छ । विगतका बर्षहरुमा भन्दा महोत्सवका कार्यक्रमहरु परिमार्जित गरिएका छन् ।
यस बर्ष हात्ती बनभोज कार्यक्रम, हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीको छावाहरुको फुटवल प्रतियोगिता, हात्ती श्रृगार प्रतियोगिता महोत्सवको आर्कषणको रुपमा रहने छन् । त्यसैगरी हात्ती पोलो प्रतियोगिता, हात्ती पेन्टीङ प्रतियोगिता, हात्ती बाथिङ कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम समेत महोत्सवमा रहने छन् ।
अंग्रेजी नयाँ बर्षलाई मध्यनजर गरी डिसेम्वर २६ देखि ३० तारिख सम्म हुने कार्यक्रमको मुख्य आयोजक क्षेत्रीय होटल संघ चितवन सौराहा रहेको छ भने मुख्य सह आयोजकमा युनाईटेड हात्ती सहकारी संस्था रहेको छ । त्यसैगरी सहआयोजकमा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वन, रेवान सौराहा, सौराहा बचत तथा ऋण सहकारी संस्था र साना पर्यटन व्यवसायी समुह रहेका छन् ।
चितवनको पर्यटकीय नगरी सौराहाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको मुख्य प्रर्बधक नेपाल पर्यटन बोर्ड रहेको छ भने संरक्षक रत्ननगर नगरपालिका रहेको छ । सो महोत्सवमा बन्यजन्तु संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान पु-याउने व्यक्तिहरुलाई पुरस्कृत र सम्मान समेत गरिने सौराहामा शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ ।
महोत्सव अन्तर्गत हात्ती बनभोज कार्यक्रमसँगै, हात्ती फाष्टवाक प्रतियोगितामा २० वटा, हात्तीको छावाहरुको फुटवल प्रतियोगितामा १० वटा, हात्ती श्रृगार प्रतियोगितामा ५ वटा, हात्ती पोलो प्रतियोगितामा ८ वटा,हात्ती पेन्टीङ प्रतियोगितामा ५ वटा, हात्ती बाथिङ कार्यक्रममा ५ वटा हात्तीहरुलाई सहभागी गराईने महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए । सो महोत्सवमा प्राथमिक उपचारको लागि हात्तीका विशेषज्ञ समेत परिचालन गरिने छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतमा कार्यक्रम भएको थियो ।
सौराहा हर्न निषेधित क्षेत्र घोषणा
चितवनको पर्यटकीय नगरी सौराहालाई शनिबारबाट हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । हात्ती महोत्सवको पत्रकार सम्मेलनमा जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले शनिबारबाटै लागु हुने गरी सौराहा क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको बताएका हुन् । शनिबारबाट आगामी पुस १५ गतेसम्म प्रचारप्रसार अवधिको रुपमा लिई जनचेतना जगाउन र स्थानीय स्तरमा सन्देश प्रवाह गर्न थालिएको पन्तले बताए । मानिसमा मात्र नभई जनावरमा पनि हर्नको कारणले पर्ने असरको बारेमा समेत जानकारी गराईने उनले बताए । यस अघि चितवनको नारायणगढ, भरतपुरका मुख्य सडकहरुमा गत भदौ १ गतेदेखि हर्न विषेधित क्षेत्र घोषणा गरिएको थियो ।















प्रतिक्रिया