गौशाला, ११ मंसिर । प्रहरीले विगत एक महिनामा जिल्लामा अवैध रूपमा लगाइएको दुई करोडभन्दा बढी मूल्यको लागुऔषध गाँजा खेती नष्ट गरेको छ ।
जिल्ला प्रहरीले चलाएको एकमहिने अभियानअन्तर्गत जिल्लाको विभिन्न गाउँठाउँमा लगाइएको सो मूल्य बराबरको गाँजा खेती नष्ट गरिएको जानकारी प्रहरी उपरीक्षक शौरभ राणाले दिनुभयो ।
महोत्तरीलाई गाँजारहित जिल्ला बनाउने अभियानअन्तर्गत जिल्लाको कोल्हुवा वगेया, भटौलिया, हात्तिलेट, लक्ष्मीनिया, भरतपुर, बेलगाछीलगायतका गाउँमा लगाइएका दुई बिघाभन्दा बढी जग्गाको अवैध गाँजा खेती फँडानी गरिएको प्रहरी उपरीक्षक राणाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठको नेतृत्वमा खटिगएको प्रहरी टोलीले विभिन्न गाविसको वन तथा घरवरिपरि लगाइएको गाँजा खेती फँडानी गरी सोही स्थानमा जलाएर नष्ट पारेका छन् ।
पछिल्लो दिनमा जिल्लामा लागुऔषध गाँजाको कारोबार बढ्दै गएको र धेरैजसो भूभागमा गाँजा खेती हुन थालेपछि प्रहरीले कात्तिक दोस्रो सातादेखि विशेष अभियान चलाएर गाँजा खेती फँडानी गर्न थालेको प्रहरीले बताएको छ । रासस















प्रतिक्रिया