काठमाडौं, २८ मंसिर । भारतको एकाधिकार तोड्दै चीनसँग सम्बन्ध विस्तार गर्दा केपी शर्मा ओलीसँग झस्किएका भारतीय विज्ञहरुले अबको वाम सरकारसँग मिलेर जानुपर्ने बताएका छन् ।
नेपाल मामिलाका जानकार तथा नेपालसम्बन्धी भारतीय नीति निर्माण तहमा प्रभाव राख्ने ती विज्ञहरुले केपी ओलीलाई रोक्न नसकिएको भन्दै ‘कोर्स करेक्सन’ गरेर अघि बढ्नुको विकल्प नभएको बताए ।
नेपालको निर्वाचन परिणामबारे भारतीय राज्यसभा टेलिभिजनले भर्खरै गरेको बहसमा नेपालका लागि पूर्व भारतीय राजदूत राकेश सुद र नेपाल मामिलाका जानकार प्राध्यापक एसडी मुनीले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्नुको विकल्प नभएको बताएका हुन् ।
केही महिनाअघि यही टेलिभिजनको एउटा बहसमा मुनी लगायतका केही विदेशमामिला विज्ञले नेपालमा ओली आउनु भारतका लागि दुर्भाग्य भएको भन्दै ओलीलाई आउन नदिन भारतले सबै हतकण्डा प्रयोग गर्नुपर्ने अभिव्यक्ति दिएका बेला नेपालमा भर्खरै सम्पन्न चुनावमा वाम गठबन्धनले दुईतिहाई बहुमत प्राप्त गरेपछि उनीहरुको बोली फेरिएको हो ।
राज्यसभा टेलिभिजनको भर्खरैको बहसमा पूर्व राजदूत सुदले अब भारतले नेपालको नीति र व्यवहारप्रति ‘कोर्स करेक्सन’ गरेर अघि बढ्नुपर्ने बताए । उनको भनाईमा प्रध्यापक मुनीले सहमति जनाए । पूर्व राजदूत सुद र प्राध्यापक मुनीले भारतले भरोसा गरेका नेपाली कांग्रेसका अधिकांश नेताहरुले चुनाव हारेको र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रयोग गर्ने ठाउँ पनि अब सिमित भएको भन्दै ‘कोर्स करेक्सन’को विकल्प नभएको बताए ।
यद्यपी मधेशको संविधान संशोधनको माग सम्बोधन हुनेमा संशय रहेको भन्दै ओली नेतृत्वको सरकारसँग चुनौति रहेको उनीहरुको बुझाई छ ।
















प्रतिक्रिया