पर्वत, ११ मंसिर । पर्वत जिल्लाका ९० प्रतिशत जनतालाई खानेपानीको प्रत्यक्ष सुविधा पुगेको छ ।
जिल्लाको कुल जनसङ्ख्यामध्ये आधारभूत खानेपानी सेवाको पहुँचबाट ९० दशमलब ४७ प्रतिशत बासिन्दा लाभान्वित बनेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतले जनाएको छ ।
त्यस्तैगरी जिल्लामा आधारभूत सरसफाइबाट शत्प्रतिशत बासिन्दा लाभान्वित बनेका छन् ।
खानेपानी तथा सरसफाइ क्षेत्रको विकास तथा विस्तार गरी जनतालाई दिगो समतामूलक खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराई जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यअनुसार कार्यालयले जिल्लाका शत्प्रतिशत बासिन्दालाई खानेपानीको पहुँच पुराउने अभियानमा लागेको छ ।
आर्थिक वर्ष २०७१–०७२ मा पनि जिल्लामा खानेपानी तथा सरसफाइ क्षेत्रमा खर्च गर्ने गरी ६ करोड ५७ लाख १४ हजार बजेट विनियोजन भएको छ ।
जसमध्ये चालुतर्फ ७४ लाख २१ हजार र पुँजीगततर्फ पाँच करोड ८२ लाख ९३ हजार रहेको जानकारी डिभिजन प्रमुख पूर्णप्रसाद उपाध्यायले दिए ।
त्यस्तै चालु आवमा जिल्लाका विभिन्न गाविसका सञ्चालन गर्नेगरी ४२ वटा खानेपानी योजना स्वीकृत भइआएका छन् ।
ती आयोजना सम्पन्न गर्नका लागि चार करोड ५४ लाख २३ हजार विनियोजन भएको छ ।
खानेपानी तथा सुधारका लागि थुप्रै योजना स्वीकृत भई आए पनि पर्याप्त आर्थिक स्रोतको अभाव हुँदा काम गर्न कठिनाइ हुने डिभिजन प्रमुख उपाध्यायको भनाइ छ ।
आव २०७१–०७२ को बजेट नीति तथा
कार्यक्रम सार्वजनिक समारोहमा उक्त कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो ।
सोही अवसरमा घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत शिवशङ्कर बाँनियाले एक करोड ८९ लाख ४० हजार बराबरको कार्यक्रम तथा बजेट प्रस्तुत गरे ।















प्रतिक्रिया