काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका नेताहरुले नवनिर्वाचित सांसद एवं पूर्वडीआईजी नवराज सिलवालसँग माफी मागेका छन् ।
नेकपा एमालेबाट ललितपुर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचित सिलवाललाई टेलिफोनमार्फत बधाई दिँदै कांग्रेस नेताहरुले विगतमा नेपाल प्रहरीको प्रमुख नियुक्ति प्रकरणमा पार्टी नेतृत्वबाट गल्ती भएको भन्दै ‘सरी’ भनेको सिलवाल निकट स्रोतले बतायो ।
कांग्रेसमा सिलवालसँग जोडिएको आईजीपी नियुक्ति र प्रधानन्यायाधीशमाथि महाअभियोग प्रकरण लगायतले पार्टी हारेको कारणहरु प्रस्तुत भइरहेका बेला, देउवाको विकल्प खोजिएका बेला बौद्धिक नेताले सिलवालसँग क्षमायाचना गरेको स्रोतको दाबी छ ।
यसरी क्षमा माग्नेमा ललितपुर १ कै पूर्व सांसद एवं सिलवालसँग पराजित उदयसम्शेर राणा, विपीपुत्र शेखर कोइराला, युवा नेता धनराज गुरुङ (जसले उतिबेलै आईजीपी प्रकरणको विरोध गरेका थिए)लगायत रहेका छन् ।
उनीहरुले आफूहरुको पार्टी नेतृत्वले गल्ती गरेको भन्दै क्षमा याचना गरेका हुन् । जवाफमा सिलवालले धन्यवाद दिएका थिए । उनले विगतमा आफूमाथि भएका व्यवहारलाई विर्सिदै गएको भन्दै आफूले कसैमाथि पूर्वाग्रह नराख्ने र सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।















प्रतिक्रिया