काठमाडौं, २७ मंसिर । प्रदेश २ मा क्षेत्रीय प्रभाव राख्ने दुई मधेसकेन्द्रित दलहरू राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपाल दुई वटा दल मिलेर पनि प्रदेश सरकार बनाउन नसक्ने जनादेश प्राप्त भएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने) का प्रदेशसभाका ६४ सिटको परिणाम प्राप्त हुँदा मिलेर चुनाव लडेका यी दुई दल मात्र मिल्दा सरकार बन्न नसक्ने अवस्था आएको छ । प्रदेशसभा प्रत्यक्षतर्फ ६४ मध्ये २० सिटमा जितेर संघीय फोरम सबैभन्दा ठूलो दल बनेको छ। त्यस्तै, राजपाले १५ सिट हासिल गरेको छ ।
समानुपातिकतर्फबाट ४३ प्रदेशसभा सदस्य निर्वाचित हुने प्रदेश २ मा बहुमत हासिल गर्न कम्तीमा यी दुई दलको १७ सिट हासिल गर्नुपर्नेछ । यसका लागि उक्त प्रदेशमा समानुपातिकतर्फ कम्तीमा ४० प्रतिशत मत पाउनुपर्ने हुन्छ, जुन सम्भव देखिँदैन । मंगलबार साँझसम्म २ लाख ६५ हजार ६ सय ५७ मत गन्दा राजपाले करिब २१ र फोरमले १५ प्रतिशत मत मात्र हासिल गरेका छन् ।
निर्वाचनअघि प्रदेशमा ‘आक्रमणको निसाना’ बनाइएको एमालेले प्रदेश २ मा प्रत्यक्षतर्फ राजपाभन्दा एक सिट मात्र कम अर्थात १४ सिट जितेको छ भने गठबन्धनको अर्को घटक माओवादी केन्द्रको ६ सिट छ ।
दुवै दल गरी गठबन्धनले प्रत्यक्षतर्फ २० सिट जितेका छन् । यी दुई दल प्रदेश २ को सत्तामा सहभागी नभए प्रतिपक्षीको हैसियतमा रहनेछन्।वाम गठबन्धनका एमाले-माओवादीले समानुपातिकतर्फ एक तिहाइ मात्र भोट प्राप्त गरे भने पनि यसमा अरू १४ सिट थपिने छन् ।
पाँच वटा दल र एक जना स्वतन्त्रले चुनाव जितेका छन्- प्रदेश २ को प्रदेशसभामा । रौतहटको क्षेत्र नम्बर ४ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका शेख अबुल कलाम आजाद राजपाकै बागी उम्मेदवार हुन् ।
कांग्रेसले प्रत्यक्षमा ८ सिट जितेको छ । उसले समानुपातिकतर्फ योभन्दा बढी सिट हासिल गर्ने निश्चितप्रायः छ ।
‘त्रिशंकु संसद्’ बन्ने निश्चित भएको उक्त प्रदेशमा दुई ठूला दल कांग्रेस वा एमालेको समर्थनबिना उक्त प्रदेशमा सरकार बनाउन सक्ने बहुमत जुट्ने सम्भावना देखिँदैन ।
प्रदेश २
प्रतिनिधिसधा/प्रदेशसभा
संघीय समाजवादी फोरम ९/२०
राजपा १०/१५
एमाले २/१४
कांग्रेस ६/८
माओवादी केन्द्र ५/६
स्वतन्त्र ०/१












प्रतिक्रिया