काठमाडौँ, २६ मंसिर । प्रदेश १ को सुनसरी क्षेत्र नम्बर ३ को मतगणनाको क्रममा सोमबार मतपत्रमा २० रुपैयाँको नोट भेटिदा विवाद निस्किएपछि मतगणना कार्य रोकिएको यसअघि बताइएको थियो । तर सो क्षेत्रको मतगणना रोकिनुको खास कारण भने अर्कै थियो ।
बाम गठबन्धनबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरीले मतपेटिका बदलिएको आरोप लगाएकी छिन् । सुनसरीको जिल्ला समन्वय समितिको परिसरमा पत्रकारसँग कुरा गर्दै चौधरीले केही मतपेटिकामा शंका उब्जिएकाले त्यसबारे खोजी गर्दा तयारी मुजुल्का र केही थान मतपेटिकाको सिल झाडीमा भेटिएको बताइन् । प्रशासनका केही अधिकारीले दिएको सूचनाकै आधारमा खोजी गर्दा यस्तो भेटिएको उनले बताएकी छिन् ।

चुनाव जित्न काँग्रेसले धाँधली गरेको चौधरीले आरोप लगाएकी छिन् । उनले भनिन्, ‘निष्पक्ष रुपमा निर्वाचन आयोगले चुनाव गराउन सकेन । आयोगले नै खटाएका कर्मचारीले फटाइ गरे ।’
चौधरीले न्यायको लागि आफू अदालत जाने समेत बताइन् । उनले सुनसरीका मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम प्रसाद ढकाल र प्रहरी प्रमुख एसपी विद्यानन्द माझीको भूमिकामाथि समेत प्रश्न उठाएकी छिन् ।
चौधरीले शंकाष्पद रहेका ९ वटा मतपत्रको सिरियल नम्बर हेर्न पाउँ भन्दै माग गरेकी छिन् । तर, निर्वाचन अधिकृत ढकालले निर्वाचन कानुन विपरित उक्त सिरियल नम्बर हेर्न नमिल्ने भनेपछि विवाद उत्पन्न भएको बताइएको छ । शिल कैँचीले काटिनुपर्नेमा हातले चुँडाइएको अवस्थामा रहेको चौधरीले बताएकी छिन् । शिलको नम्बरसँग मेल खाने मुजुल्कासमेत झाडीमा सँगै भेटिनुले मतपेटिका परिवर्तन गरी धाँधली गरिएको पक्का भएको उनको आरोप रहेको छ ।

यसअघि नेपाली काँग्रेसका उम्मेदवार विजय कुमार गच्छदारले पत्रकारसँग कुरा गर्दै चौधरीले धाँदली गर्न खोजेको आरोप लगाएका थिए । गच्छदारले सोमबार मतगणना रोकिएको समयमा चौधरीले गतगणनामा धाँदली गर्न गैरकानुनी कार्य गरेको आरोप लगाउँदै तुरुन्त मतगणना सुरु गर्न माग गरेका थिए ।
यसबारे सुनसरीका मुख्य निर्वाचत अधिकृत पुरुषोत्तम ढकालले कुनै प्रतिकृया दिन चाहेनन् ।















प्रतिक्रिया