बनेपा, १० मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनमा सहभागी सदस्य देशका राष्ट्राध्यक्ष/ सरकार प्रमुख रिट्रीटका लागि बिहीबार बिहान काभ्रेको धुलिखेल आउँदै हुनुहुन्छ ।
राजधानी काठमाडौँबाट ३० किलोमिटर पूर्व काभ्रेको धुलिखेल नगरपालिका–१ स्थित भट्टेडाँडामा रहेको द्वारिकाज होटेलमा विशिष्ट पाहुनाहरु रिट्रिटमा सहभागी हुनुुहनेछ ।
रिट्रिटलाई सार्कको एउटा नियमित प्रक्रिया र आर्कषणको रुपमा लिइन्छ । सार्कको औपचारिक मञ्चमा द्विपक्षीय मुद्दा उठाउन नमिल्ने परम्परा रहेको कारण पनि रिट्रिटले बढी चर्चा पाउने गर्छ ।
रिट्रिटका समयमा सहभागी राष्ट्र/सरकार प्रमुखबीच खुलेर एक आपसमा भलाकुसारी गर्दै आपसी हितमा मात्र सीमित नरही द्विपक्षीय समस्याका गाँठो फुकाउने अवसर पनि मिल्छ । दुईदिने शिखर सम्मेलनमा व्यस्त कार्यतालिकाको चापलाई पन्छाएर केही समय विश्रामका लागि फुर्सद निकाल्ने चलन रहेको छ ।
शिखर सम्मेलनको दोस्रो दिन आयोजक राष्ट्र नेपालले धुलिखेलमा यसप्रकारको खानपानसहितको विश्रामको व्यवस्था मिलाएको हो । विशिष्ट पाहुनाहरु हेलिकोप्टरबाट यहाँ आउनुहुनेछ ।
तीनसय रोपनीमा फैलिएको होटल द्वारिकाजबाट उत्तरी क्षेत्रमा फैलिएको मनोरम हिमशृङ्खला, पहाडी भू–भाग र जनजीवनको सजिलै अवलोकन गर्न सकिन्छ । अत्याधुनिक सुविधा सम्पन्न सो होटलमा विशेषत पाहुनालाई स्थानीय उत्पादनका परिकार उपलब्ध गराउँदै आएको छ । रासस















प्रतिक्रिया