रत्ननगर (चितवन), १० मंसिर । चितवनको गीतानगर क्षेत्र आसपासमा महिना दिनदेखि आतङ्क मच्चाइरहेको चितुवालाई चितवन निकुञ्जले अझै नियन्त्रणमा लिन सकेको छैन ।
दुई हप्ताअघि बस्तीमा पसेर आतङ्क मच्चाएको चितुवा फेरि अहिले यहाँको देवनगरलगायत बस्तीमा पसेको चितवन निकुञ्जले जनाएको छ ।
बस्तीमा पसेको चितुवा नियन्त्रणका लागि चितवन निकुञ्जले तीनदिनदेखि यहाँ प्राविधिक टोलीसहित चारवटा हात्ती परिचालन गरेको छ ।
तर आज बिहानसम्म नियन्त्रणको प्रयास सफल हुन नसकेको निकुञ्जका प्रवक्ता तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो । अघिल्लोपटक पनि प्राविधिक टोली नियन्त्रणका लागि असफल बनेको थियो ।
रुखमा पनि चढ्ने गरेकाले नियन्त्रणमा लिन अप्ठे्यारो परेकाले अब खोर थापेर नियन्त्रणमा लिनुपर्ने अवस्था आएको निकुञ्जले जनाएको छ ।
चितुवा नियन्त्रणका लागि खटिएको प्राविधिक टोलीमध्येका एक टीकाराम थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएको पौडेलले आज जानकारी दिनुभयो ।
उहाँको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । महिनादेखि यहाँ चितुवाको आतङ्क फैलिँदा स्थानीय भने त्रसित भएका छन् । रासस















प्रतिक्रिया