१ कार्तिक २०८३, आइतबार

विद्यार्थीलाई गोरखा सङ्ग्रहालय घुम्न पैसा नलाग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkhamuseumगोरखाबजार, १० मंसिर । गोरखा जिल्लाको गोरखा नगरपालिका–१ मा रहेको ऐतिहासिक गोरखा सङ्ग्रहालय अवलोकनका लागि देशभरका विद्यार्थीलाई पैसा नलाग्ने भएको छ ।

शैक्षिक भ्रमणमा आएका विद्यार्थीलाई निःशुल्क पासको व्यवस्था मिलाएको सङ्ग्रहालय प्रमुख करुणा राईले जानकारी दिनुभयो ।

सङ्ग्रहालयले पहिलो चरणमा गोरखा नगरपालिकाभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पास तयार गर्ने प्रक्रिया थालेको छ ।

‘गोनपाभित्रका ३६ विद्यालयमा पढ्दै आएका विद्यार्थीलाई पास बनाउँदै छौं,’ राईले भने, ‘भ्रमणका लागि आएका देशभरका विद्यालयका विद्यार्थीले निःशुल्क सङ्ग्रहालय अवलोकन भ्रमण गर्न पाउने गरी व्यवस्था मिलाइसकेको छ ।’

सङ्ग्रहालयले बनाएको पास देखाएपछि पुरातत्व विभागअन्तर्गत देशभरका ऐतिहासिक, धार्मिक धरोहरको भ्रमण गर्न पाइने सङ्ग्रहालयका शाखा अधिकृत गणेश भट्टराईले जानकारी दिए ।

‘सङ्ग्रहालय भ्रमणका लागि आएका विद्यार्थीलाई पनि पास बनाएर दिने प्रक्रिया थालिएको छ,’ भट्टराईले भने, ‘त्यो पास देखाएपछि देशभरका १६ वटा सङ्ग्रहालय निःशुल्क भ्रमण गर्न पाइन्छ ।’

पासले पुरातत्व विभागअन्तर्गतका सङ्ग्रहालय मात्र घुम्न पाइने उनको भनाइ छ । प्रतिविद्यार्थी ३० लिएपछि मात्रै सङ्ग्रहालयले पास बनाउने गरेको छ ।

नियमित रुपमा देशभरका विभिन्न ठाउँ घुम्नेका लागि भने विशेष प्रकारको पासको व्यवस्था गर्ने सङ्ग्रहालयको तयारी छ ।

परिचयपत्र उपलब्ध गराउँदा आन्तरिक पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने सङ्ग्रहालयको विश्वास छ ।

सङ्ग्रहालयभित्र तत्कालीन राजा पृथ्वीनारायण शाहको ५२ हात लामो चिना, कालु पाण्डे, पृथ्वीनारायण शाहको शालिक, विभिन्न सैनिक निशान, राजपरिवारका फोटो, नेपाल एकीकरण गर्दाका फोटो, विभिन्न ऐतिहासिक मठमन्दिर, दरबार निर्माण गर्दाका फोटो, पृथ्वीनारायण शाहको पालाको बाजा, गोरखाका आदिवासी जनजातिको संस्कृति झल्काउने डमी, नेपाल एकीकरणका बेला प्रयोग गरिएका हातहतियार, तोपलगायतका ऐतिहासिक महत्वका सामग्रीहरु राखिएका छन् ।