काठमाडौँ, ९ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मधेसवादी दलका नेताहरूले सामूहिक भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री मोदी रहनुभएको होटल सोल्टीमा मंगलबार राति अबेर भएको सो भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक स्थिति, दुई देशबीचको सम्बन्ध तथा संविधान लेखनका विाषयमा भइरहेको प्रगतिका बारेमा केन्द्रित रहेर उहाँहरूबीच छलफल भएको थियो ।
भेटवार्तामा मधेसवादी दलहरूले संविधान लेखनमा पछिल्लो समय दलहरूबीच देखिएको असमझदारी र त्यसलाई सुल्झाउन भइरहेको प्रयासका बारेमा जानकारी गराएको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिनुभयो ।
भेटमा भारतीय प्रधानमन्त्री मोदीले सबै दलहरूको सहमतिमा जारी हुने संविधान मात्र दिगो हुने र मुलुकले विकास र समृद्धि हासिल गर्ने भएकाले सबैको सहमतिमा तोकिएकै समयसीमाभित्र संविधान जारी गर्नका लागि भूमिका निर्वाह गर्न सुझाव दिनुभएको उहाँले जानकारी दिनुभयो ।
भेटवार्तामा अध्यक्ष गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुृर, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहभागी हुनुहुन्थ्यो ।
















प्रतिक्रिया