३० आश्विन २०८३, शुक्रबार

महिलाले अर्कैको पाठेघरबाट बच्चा जन्माइन्

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हाउसटन, , १७ मंसिर । अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको छ ।

यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा क्षेत्रका व्यक्तिहरुले प्रचारप्रसार गरेका छन् गर्भाशय प्रत्योपित महिलाबाट अमेरिकामा यो पहिलो पटक बच्चा जन्मिएको अमेरिकाको टेक्सासमा रहेको अस्पतालले पुष्टि पनि गरेको सिहन्वाले दिएको समाचारमा उल्लेख छ।

अमेरिकी राज्य टेक्सासको डालासमा रहेको ‘द बेइलर स्कट एण्ड ह्वाइट मेडिकल सेन्टर’ नामक अस्पतालमा शुक्रबार ती अमेरिकी महिलाले बच्चा जन्माएकी हुन् । उक्त अस्पताल हाउसटनबाट करिब ४०० किलोमिटर उत्तरमा पर्दछ ।

उक्त अस्पतालले एक्काइसौँ शताब्दीमा प्राप्त चिकित्सा क्षेत्रका केही उपलब्धिमध्येको एक उपलब्धिका रुपमा महिलाको प्रत्यारोपण गरिएको गर्भाशयबाट बच्चा जन्मिएको भनी आफ्नो ट्वीटर अकाउन्टमार्फत सार्वजनिक गरेको छ ।

ती महिलाले बच्चालाई जन्म दिएको भिडियो नै सो ट्वीटर अकाउन्टमा राखिएको छ । र भनिएको छ— ‘चिकित्सा क्षेत्रमा प्राप्त यो उपलब्धि धेरै ठूलो हो, जुन अमेरिकामा पहिलो पटक प्राप्त भएको छ।’

उक्त अस्पतालले सन् २०१६ को सेप्टेम्बर महिनामा चार जना महिलामा गर्भाशय प्रत्यारोपण गराएको थियो । यस क्रममा उनीहरुले स्वीडिस् मेडिकल समूहको सहयोग लिएको जनाएका थिए । ती मध्ये एकजना महिलाको मात्र प्रत्यारोपण सफल भएको थियो । तिनै महिलाले शुक्रबार बच्चा जन्माएकी हुन् ।

यसरी एक महिलाको गर्भाशय अर्कोमा प्रत्यारोपण गर्ने कामको सुरुवात स्वीडेनमा भएको हो । त्यहाँ यसअघि नै यसरी गर्भाशय प्रत्यारोपण गरिएका महिलाबाट पाँच जना शिशु जन्मिइसकेका छन् ।

सन् २०१४ को सेप्टेम्बर महिनामा पहिलो पटक स्वीडेनमा यसरी प्रत्यारोपण गरिएको गर्भाशयबाट बच्चा जन्मिएको थियो । – सिन्हवा