२ कार्तिक २०८३, सोमबार

सार्क सुरक्षाका लागि भन्दै चितवनमा प्रहरीको २४ सै घण्टा गस्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khantalasi-kathmandu-policeरत्ननगर (चितवन), ८ मङ्सिर । सार्क शिखर सम्मेलनका लागि सुरक्षा प्रबन्ध मिलाउने सिलसिलामा चितवनमा दुई सुरक्षा पोस्ट स्थापना गरिएका छन् ।

जनपद प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली रहने गरी पोस्ट स्थापना गरेर जाँचमा कडाइ गरिएको चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो । विशेष गरी चितवनको मुख्य नाका मानिने पूर्वतर्फ लोथरमा र राजधानी जाने नाका चितवनको मुग्लिनमा पोस्ट स्थापना गरिएका हुन् ।

प्रत्येक पोस्टमा कम्तीमा आठजना प्रहरी राखिएका छन् । राजधानीमा विस्फोटक पदार्थ र साना हातहतियार भित्रिन सक्ने भन्दै परीक्षणका लागि विशेष विद्युतीययन्त्रसहित प्रहरी परिचालन गरिएको थापाले जानकारी दिनुभयो ।

चितवन प्रशासनले मुख्य राजमार्गसँगै सीमा क्षेत्रमा समेत कडाइ गरेको जनाएको छ  । अहिले राजमार्गमा आवतजावत गर्ने सवारीमा समेत सुरक्षा कडा पारिएको छ भने निश्चित स्थानमा मात्रै सवारी रोक्न दिइने भएको छ ।

केन्द्रबाट सीमा र राजमार्गलाई विशेष निगरानीका लागि निर्देशन आएकाले सोहीअनुरुप सुरक्षा परिचालन गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय चितवनको एक टोलीले सीमा नाकाको स्थलगत अनुगमन गरेर सुरक्षा योजना बनाएको छ ।

मुख्य गरी सीमाबाट साना हतियार आउन सक्ने आशङ्कामा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । यस्तै, ठोरीको सीमा नाका तथा नवलपरासीबाट आउने पुल्चोक क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा गरिएको छ ।

दिन र रातमा समेत प्रहरीलाई गस्तीमा खटाइएको बताइएको छ । सार्कमा आउने विदेशी पाहुनाहरु चितवनको पर्यटकीय नगरी सौराहामा पनि आउन सक्ने भएकाले सो क्षेत्रमा समेत सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रशासनले जनाएको छ ।

सौराहा नेपालकै तेस्रो पर्यटकीय गन्तव्यस्थल हो । यो क्षेत्र विदेशमा पनि परिचित भएकाले जङ्गली जनावरको अवलोकन तथा विश्व सम्पदा सूचीमा रहेको चितवन निकुञ्जको भ्रमण हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाइएको प्रहरीले जनाएको छ ।

यद्यपि अहिलेसम्म चितवनमा महत्वपूर्ण व्यक्तिहरु आउनेबारेमा अहिलेसम्म कुनै जानकारी नआएको चितवन प्रहरीले जनाएको छ । राजधानीको सुरक्षालाई केन्द्रित गर्दै चितवन मध्य क्षेत्र भएकाले सुरक्षामा कडाइ गरिएको प्रहरी प्रमुख थापाले बताउनुभयो । रासस