१ कार्तिक २०८३, आइतबार

समृद्ध महानगर र मेघासिटीको सपना मात्र होइन, योजना बनाएर अघि बढदैछौंः मेयर पौडेल

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुई महिनाअघि जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित डा. कृष्ण पौडेल यतिबेला चर्चाको शिखरमा छन । उनको काम गर्ने शैली, सालिन ब्यक्तित्व र स्वच्छ छवी नै उनको चर्चाका कारणहरु हुन । राजनीतिक एवम् सहकारी तथा सामाजिक अभियन्ताका रुपमा काम गरेका डा. पौडेल यसअघि चर्चामा नआएका होईनन् । शिक्षण पेशाबाट सहकारी क्षेत्रमा प्रवेश गरेका डा. पौडेलले सहकारी बिषयमै विद्यावारिधी (पिएचडी) समेत गरेका छन् । प्रदेश २ मा स्थानीय निर्वाचन एमालेका लागि सुखद भएन । प्रदेश २ को एक महानगर र तीन उपमहानगरमध्ये एक जीतपुरसिमरा उपमहानगरमा नगर प्रमुखको उम्मेदवारी दिदै गर्दा उनको जित निश्चित रहेको आंकलन गरिएको थियो । उपमहानगरको २४ वडामध्ये १७ वडा नेकपा एमालेले गुमाउदा डा. पौडेल दुई हजार आठ सय ३४ मतान्तरले बिजयी भए । महानगर र उपमहानगरहरुमा एमालेका उनी मात्रै विजयी भए । वौद्धिक, सहकारीकर्मी, पारदर्शी जीवनशैली, सबैसंग मिलेर काम गर्ने खुवी र सफल योजनाकारको छविकै कारण उनी जीतपुरसिमराको प्रथम नगर प्रमुख बन्न सफल भएको उपमहानगरबासी बताउछन ।

नगर प्रमुखको पदभार गर्दैगर्दा डा. पौडेलले भोजपुरी भाषालाई उपमहानगरको दोस्रो कामकाजको भाषा बनाउने घोषणा गरे, जुन घोषणाले उनलाई थप चर्चामा ल्यायो । पहाडी समुदायका नगर प्रमुखले भोजपुरी भाषालाई प्राथमिकतामा राख्दै कार्यालयको कामकाजको भाषा बनाएपछि मधेसी समुदायमा पनि उनीप्रतिको सदभाव थप बलियो हुन पुग्यो । २४ वडा मध्ये १० नेकपा माओवादी केन्द्र, सात नेकपा एमाले, पाच नेपाली कांग्रेस र दुई राष्ट्रिय जनता पार्टीले जित हासिल गरेको उपमहानगरमा डा. पौडेलले सबैको भावनालाई समेटदै डेढ महिना नवित्दै प्रथम नगर सभा समेत सम्पन्न गरेका छन् । प्रदेश २ को स्थानिय तहमध्ये नगर सभा सम्पन्न गर्ने पहिलो स्थानिय तह जीतपुरसिमरा उपमहानगरनै बनेको छ । निर्वाचित भएको करीव डेढ महिना, कार्यपालिकाले काम सुरु गरेको एक महिना र १५ दिनको सघन तयारीमा डा. पौडेलले दीर्घकालीन तथा अल्पकालिन योजना, वार्षिक बजेट तथा कार्यक्रमसहित प्रथम नगरसभा सम्पन्न गरेका हुन् ।
उपमहानगरको कार्यपालिकामा अल्पमतमा रहेर पनि उनले कार्यपालिका सदस्य र नगरसभा सदस्यको मन जितेर सर्वसम्मत निर्णयका साथ समृद्धिका खाका कोरेका छन । यति छिटै र सहज रुपमा नगरसभा सम्पन्न होला भन्ने कुराको अनुमान गर्न कठिन थियो । त्यो कठिनाईको व्यवस्थापन गरेर अघि बढेका डा. पौडेल भन्छन ‘अव जीतपुरसिमरा समग्र विकासको ट्र्याक अघि बढ्यो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलगत्तै कार्यान्वयन प्रक्रिया अघि बढछ र परिणाम आउन थाल्छ ।’

जीतपुरसिमराको बहुआयामिक विकासलाई तीव्र बनाएर समृद्ध महानगरको आधारशिला खडा गर्ने प्रतिवद्धताका साथ निर्वाचन मैदानमा होमिएका डा. पौडेलले बिजयी भएलगत्तै उपमहानगरलाई मेघासिटी बनाउन सकिने महत्वाकांक्षी योजना प्रस्तुत गरेका छन । प्रथम नगरसभाको सफलतापूर्वक सम्पन्नतासंगै अव त्यो प्रक्रिया अघि बढेकोमा खुशी छन डा. पौडेल । प्रस्तुत छ, पूर्वाधारका हिसाबले निकै कमजोर रहेको उपमहानगरलाई मेगासिटी बनाउने महत्वाकांक्षी योजना र अवधारणासहित समृद्धिको अभियानमा रहेका डा. पौडेलसंग गरिएको कुराकानीको सारसंक्षेपः

– अति व्यस्त देखिनुहुन्छ, जीतपुरसिमरा उपमहानगरको प्रथम नगरप्रमुख भएपछि कसरी काम गरिरहनुभएको छ ?

राजनीतिक कार्यकर्ता, सहकारीकर्मी पेशाले लेखापरीक्षक, अनि र विभिन्न सामाजिक अभियानमा संलग्न भईरहदा यस्तै व्यस्त थिए । अब अहिले प्रदेशकै अति सम्भावना बोकेको उपमहानगरको कार्यभार सम्हालिरहदा व्यस्तता नहुने कुरै भएन । परिवर्तनले सिर्जना गरेको अत्यन्त महत्वपूर्ण अवसर जीतपुरसिमरा उपमहानगरको प्रथम नगरप्रमुख भएपछि मेरा दिनचर्या र कामको प्राथमिकता फेरिएको छ । बिहानदेखि करीव मध्यरातसम्म उपमहानगर र नगरप्रमुखको जिम्मेवारीमा मेरो समय केन्द्रीत भएको छ ।

पहिलो पटक ठुलो भूगोल र जनसंख्या, पूर्वाधार र समग्र विकासका हिसावले कमजोर धरातलमा उभिएको जीतपुरसिमरा उपमहानगरको पहिलो नगरप्रमुखको रुपमा निर्वाचित भएको छु । संविधानले दिएको असीमित अधिकारसहितको स्थानीय सरकारको प्रमुखको कामलाई संयोजन गरेर अघि बढिरहेको छु । मुलुकमा रहेका तीन तहका सरकारमध्ये स्थानीय सरकार र प्रमुखको अधिकार फरक र बिशिष्ट छ । यो स्थिर सरकार पनि हो किनभने यसलाई आफनो अवधिसम्म काम गर्न पाउने अधिकार छ अर्थात अविश्वास प्रस्ताव वा कुनै किसिमले सरकार फेर्न सकिदैन । त्यस्तै नगरप्रमुखलाई स्थानीय व्यवस्थापिका संसद अर्थात नगरसभा प्रमुखको अधिकार र अन्य सम्मानित जिम्मेवारी दिइएको छ । पहिलोपटक यस्तो सरकार र प्रमुखको अवधारणामा काम सुरु हुदैछ । त्यस्तै संविधानतः दिइएको अधिकार अझै पूर्णप्रयोगमा आइसकेको छैन । अधिकार प्रयोगमा आउन नदिने वा कटौतीको अभ्यासहरु पनि देखिदैछ । प्रतिनिधिसभा र प्रदेशसभा नभएको कारण पनि हामीलाई कतिपय कानूनहरु अभावका कारण काम गर्न कठिनाई भइरहेको छ । जनताका असीमित आकंक्षाहरुलाई सम्वोधन गर्नुपर्ने तीव्र दबाबमा हामी छौं र त्यसलाई क्रमशः पुरा गर्दै जाने प्रक्रिया आरम्भ गरिसकेका छौं । उपमहानगरको सबै कामलाई संयोजन गर्ने, सबै भूगोल र आम नागरिकवीच पुग्ने र नियमित तथा विभिन्न खालका जिम्मेवारीहरुको चापमा काम गर्दैछु ।

आउदाआउदै संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थानीयकरण गर्न र नागरिकलाई स्थानीय सरकार र सुशासनको अनुभुति दिनका लागि सबै वडा कार्यालयहरु स्थापना ग¥यौ । भोजपुरी भाषालाई दोस्रो कामकाजको भाषा बनाउनेदेखि लिएर नियमित कामलाई तीव्रता दिन प्रयत्नशिल रह्यौं । विकास निर्माण, सुशासन र सामाजिक न्यायका सम्वद्ध पक्षहरुवीचको सम्वन्ध विस्तार गर्ने र प्रभावकारी बनाउने कार्यमा पनि हामी लाग्यौं । मुख्यतः छोटो समयमा नगरसभा सम्पन्न गर्नु नै महत्वपूर्ण उपलव्धिको रुपमा लिएको छु ।

– पूर्वाधारको अवस्था अत्यन्त कमजोर छ, उपमहानगर घोषणा हुनुको मापदण्ड जनसंख्या र भूगोल मात्रै देखिन्छ, यस्तो उपमहानगरलाई समृद्ध महानगर र मेघासिटी बनाउने कुरा गर्नुहुन्छ, कसरी सम्भव हुन्छ ?

उपमहानगरमा स्तरोन्नतीको समय भएको थिएन । यो हाम्रो मांग पनि थिएन । स्थानीय तह पुर्नसंरचनाको क्रममा टुक्र्याउने वा नटुक्र्याउने बहसको क्रममा एकाएक भूगोल थपिएर उपमहानगर बन्न पुग्यो । जीतपुर र सिमरा सामान्य बजार भएपनि भूगोल र मानवविकासका कुनै पनि सूचक उपमहानगरलायक छैन । बाटो, पूल, पूर्वाधार, सामाजिक तथा मानवविकासका सूचकहरु कमजोर छन । आन्तरिक आयको अवस्था झनै कमजोर छ । हामी उपमहानगरमा प्रवेश गरिरहदा आन्तरिक आय, प्रणाली र कार्यमा अनेकौ समस्याहरु देख्यौं । वीस वर्षदेखि जनप्रतिनिधिबिहिनताको अवस्थाले पनि होला, उपमहानगरको स्थिति अत्यन्त कमजोर पायौं । तर पनि विकासका उच्चतम सम्भावनाहरु छन । अन्तर्राष्ट्रिय बिमानस्थल, काठमाण्डौं जोडने द्रुतमार्ग, विशेष आर्थिक क्षेत्र, पथलैया–वीरगञ्ज ६ लेन सडक, पूर्वपश्चिम रेलवेलगायत राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनाहरु, पर्सा राष्ट्रिय निकुञ्ज, वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर यही छ । यहांका बहुआयामिक सम्भावना र विकासको पछिल्लो दुई दशकको अनुभवका आधारमा विकासको प्रक्रियालाई तीव्र बनाउदा समृद्ध महानगरको आधारशिला खडा गर्न सक्छौ भन्ने लागेको छ । त्यतिमात्रै होइन, दक्षिणतर्फ आर्थिक राजधानी वीरगञ्ज महानगर, मुलुककै लाइफलाइन, उत्तरतर्फ हेटौडा महानगर अनि पूर्वतर्फ एयरपोर्ट र फास्ट ट्र्याकले निजगढसम्म विस्तारित हुने सम्भावनाले मेघासिटीको केन्द्र बनाउन सकिनेछ । यो भनिरहदा मलाई मेरै बोर्डको सदस्यल समेत खिशी गर्दछन । तर मलाई विश्वास छ, हामी दीर्घकालीन योजनासहित काम गर्ने हो भने यो पुरा गर्न सक्छौं ।

– तपाईले आफु अल्पमत अनि फरक आस्था राख्नेहरुको बाहुल्यतावीच छोटो अवधिमा प्रथम नगरसभा सम्पन्न गरेर प्रदेश २ मा रेकर्डब्रेक गर्नुभयो । कसरी सम्भव भयो, त्यसो गर्न ?

वास्तवमा म अल्पमतको मेयर निर्वाचित भएं । २४ मध्ये १७ वार्ड हारेर पनि फराकिलो मतान्तरले निर्वाचित भएको मेयर । तथापी मलाई विश्वास थियो की विकासको मामिलामा सबैलाई सहमत गराएर लैजान सक्छु भन्ने । एमाले र माओवादीकेन्द्रवीचको सहकार्यले मलाई सजिलो बनाएकै हो । सुरुका दिनमा मलाई अप्ठ्यारो भयो । पहिलो वैठकले नै सबै वडा कार्यालयमा वडा कार्यालयहरु खोल्ने, सामान्य मर्मत सुधारका योजनाहरु अघि बढाउने कार्यसंगै प्रथम नगरसभाको मिति तोक्यौं । निर्वाचित भएलगत्तै विधि, प्रक्रिया र प्रणाली अघि बढाउन व्यवस्थापिका संसदको रुपमा रहेको नगरसभामा जानु जरुरी ठान्यौं । समृद्धिको मामिलामा आस्था, भूगोल र समुदायबाट माथि उठन मैले पटकपटक अनुरोध गरें ।

कार्यपालिका मेरो लाइनमा कन्भिन्स भयो । हामीले सबैकाम फास्टट्रयाकमा अघि बढायौं । निर्वाचित भएको करीव डेढ महिना, कार्यपालिकाले औपचारिक रुपमा काम सुरु गरेको एक महिना र सघन तयारीको पन्ध्र दिनमा नगरसभा सम्पन्न गर्यौं । कार्यपालिकाका साथीहरु कन्भिन्स भएपछि नगरसभा सफल गर्न कठिन भएन । दीर्घकालीन तथा अल्पकालीन योजनासहित प्रथम नगरसभा सफल भएपछि अवको जीतपुरसिमराको समृद्धिको प्रक्रिया अघि बढेको छ । नगरसभाको सफलताले एकप्रकारले भन्ने हो भने मलाई ब्रेकथ्रु नै दिएको छ ।

– उपमहानगरको समृद्धिमा तपाईको प्राथमिकता के हो र विकासको कामलाई कसरी संयोजन गर्दैहुनुहुन्छ ?

यो उपमहानगरको समृद्धिमा मेरो सबैभन्दा पहिलो प्राथमिकता यातायात सञ्जाल नै हो । सडक बहुआयामिक समृद्धिको आधार रहेछ । त्यसैले उपमहानगरलाई दुई तहको चक्रपथसहित सबै वडा र टोल जोडने सडकलाई फराकिलो र पक्की बनाउने कुरालाई जोड दिएका छौं । हामीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक तथा सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेका छौं ।

राष्ट्रिय गौरव र प्राथमिकताका आयोजना निर्माण प्रक्रिया सुचारु र तीव्र बनाउन केन्द्र सरकार र सम्वन्धित पक्षलाई दबाब दिएका छौं । ती आयोजनाहरुको निर्माणप्रक्रिया अघि बढिरहदा त्यसको प्रभाव सिंगो जीतपुरसिमरा उपमहानगरमा पर्नेछ । हामीले उपमहानगर हुनका लागि आवश्यक पूर्वाधार योजना र बजेट बिनियोजनसमेत गरेका छौं । जीतपुरमा दुई सय शैय्याको अस्पताल, सर्पदंश उपचार केन्द्र, टर्मिनल बसपार्क, बिजनेस टावर, स्मारकसहित ग्रिनपार्क, पशुबधशाला, सिमरामा रंगशाला, कभर्डहल, टाउनहल, बिजनेस टावर, अमलेखगञ्ज पर्यटनकेन्द्र, डुमरवाना, फत्तेपुर, इनर्वासिरा र जैतापुरमा कृषि बजार बनाउनेछौं । नदीहरुको नियन्त्रण र जग्गा व्यवस्थापनमा ध्यान दिनेछौं । उद्योग कलकारखानाहरुको अवस्था सुदृढ बनाउदै प्रदुषण नियन्त्रण र फोहोरमैला व्यवस्थामा ध्यान दिइनेछ ।

त्यस्तै सामाजिक विकासका सूचकहरुलाई पनि व्यवस्थित गर्नेछौं । समस्त नगरवासीहरुको चिन्तन, खानपिन, दिनचर्या र जीवनशैलीमा परिवर्तन ल्याउनका लागि रणनीतिक रुपमा काम गर्नेछौं । स्थानीय श्रम, सीप र आवश्यकतामा आधारित क्षमताविकास र आयआर्जनका कामहरुमार्फत गरीवी न्युनीकरण र बेरोजगारी समस्या हल गरिनेछ । पर्यटन, सहकारी तथा कृषिको सशक्तीकरणमार्फत समुदायको जीवनस्तरमा परिवर्तनमा ध्यान दिइनेछ ।

नागरिकको स्वास्थ्यका लागि स्वास्थ्यसेवा घरदैलोमा पुर्याउने, शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउने, प्राविधिक तथा स्वरोजगारमूलक शिक्षालाई प्राथमिकता दिने छौं । व्यवस्थित र योजनावद्ध शहरी विकासका लागि एकीकृत शहरी विकास योजना र शहरी विकास कोरिडोरको अध्ययन प्रक्रिया अघि बढिसकेको छ । उपमहानगरको आन्तरिक आयको अवस्थालाई सुदृढ गर्नका लागि एकीकृत सम्पत्ति करलगायत कर प्रणालीलाई सरल र फराकिलो बनाउने कुरालाई ध्यान दिइरहेका छौं ।

– छोटो अवधिमा नीति तथा कार्यक्रम र झण्डै ८५ करोडको बजेट पेश भएको छ । कार्यान्वयनमा कतिको विश्वस्त हुनुहुन्छ ?

हामी कार्यान्वयनमा पनि पूर्ण रुपले विश्वस्त छौं । कार्यान्वयनलाई मध्यनजर गरेर नै नगरसभा छोटो अवधिभित्र गरेका हौ । बजेटको ठुलो हिस्सा सामाजिक सुरक्षाभत्ता, शिक्षक तथा गाभिएर आएका सरकारी सेवाका कार्यालयका कर्मचारीहरुको तलवसुविधा र उपमहानगरकै प्रशासनीक खर्चसंग समवन्धित छ । कर्मचारीको संख्या न्युन रहेको र अवधि पनि अत्यन्त छोटो भएको कारण कार्यान्वयनमा केही समस्या देखिदैछन । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लगत्तै बजेटको कार्यान्वयन सुरु हुनेछ । हामीलाई यहांको विकासका लागि यो स्रोतले पुग्दैन । त्यसका लागि केन्द्र र प्रदेश सरकार बनेलगत्तै केन्द्र तथा प्रदेशबाट बजेट तथा कार्यक्रम ल्याउनका लागि ध्यान दिनेछौं ।

– उपमहानगरवासीको चाहना छिटो भन्दा छिटो बिकास होस भन्ने छ, के भन्न चाहनुहुन्छ ?

हामीले छोटो अवधिमा नै प्रथम नगरसभा गरेर दीर्घकालीन तथा अल्पकालीन रणनीति, विकास कार्यक्रम र बजेट बिनियोजनसमेत गरिसकेका छौं । यो सुरुवात मात्रै हो, नागरिकका सबै आकंक्षाहरु पुरा गर्ने प्रक्रिया अघि बढेको छ । हामी तपाईहरुकै घरदैलोमा नै छौं । हाम्रै पालामा समृद्ध महानगर बनाउनका लागि दीगो विकास रणनीति, व्यवस्थित र चरणवद्ध योजना र प्रभावकारी कार्यान्वयन गर्दै अघि बढनेछौं । उपमहानगरबासीका चाहना धेरै छन् मैले बुझेको छु । उपमहानगरबासीले अनुभूती हुने गरी काम अघि बढ्दै जानेछ, म बिश्वास दिलाउन चाहन्छु ।