लहान । जनकपुर बम काण्डका मुख्य आरोपी निलम्बित सभासद् सञ्जयकुमार साहलाई सिरहा कारागार ल्याइएको २४ घन्टा नबित्दै उनलाई राजधानी सार्न पत्राचार गरिएको छ ।
जिल्ला सुरक्षा समितिको आज दिउँसो सम्पन्न बैठकले उनलाई राजधानी सार्न गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागलाई पत्राचार गर्ने निर्णय गरेको हो ।
धनुषा जिल्ला अदालतले वैशाख २८ गते निलम्बित सभासद् साहलाई मुद्दा पूर्पक्षका लागि थुनुवाको रुपमा राख्न सिरहा कारागारलाई आदेश दिएपछि उनलाई सोमबार दिउँसो ३:३० बजे कडा सुरक्षा घेरामा सिरहा कारागार ल्याइएको थियो ।
“अदालतको आदेश र थुनुवा साहको व्यक्तिगत मागअनुरुप सिरहा कारागार पठाएपछि राखेका हौं”–सिरहा कारागारकी निमित्त प्रमुख बबिता महतोले भन्नुभयो, “तर कारागारको सुरक्षा र स्वयम् साहको व्यक्तिगत सुरक्षाको कारणले सुरक्षा समितिको बैठकले राजधानी सार्न अनुरोध गरिएको हो ।”
सिरहाको स्थानीय प्रशासनले जीर्ण कारागार, क्षमताभन्दा बढी कैदी बन्दी र थुनुवा रहेकाले असुरक्षा महसुस गरी निज साहलाई काठमाडौँस्थित कारागारमा सार्न आग्रह गर्ने निर्णय गरिएको जनाइएको छ ।
एक सय ५० कैदीबन्दी र थुनुवा राख्ने क्षमता रहेको सिरहा कारागारमा २०७ पुरुष, १ आश्रित बालिका र १० महिलासहित २१८ जना कैदी बन्दी र थुनुवा रहेका छन् ।
कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दामा धनुषा जिल्ला अदालतले यही वैशाख २५ गते थुनुवाको रुपमा महोत्तरीको जलेश्वरस्थित कारागारमा राख्न आदेश दिएको भएपनि कारागार प्रशासनले सुरक्षाको कारण देखाउँदै राख्न नसक्ने भन्दै फिर्ता पठाइदिएपछि त्यसको तीन दिनपछि सिरहा कारागार पठाउने आदेश दिएको थियो ।
सिरहा कारागारमा साहलाई सामान्य थुनुवा सरहको सिधासहित राखिएको कारागार प्रशासनले जनाएको छ ।
जलेश्वर कारागारले राख्न इन्कार गरेपछि स्वयम् सञ्जय साहले अदालतको इजलास समक्ष आफ्नो सुरक्षा सिरहा कारागार र काठमाडौँ बाहेक अन्यत्र हुन नसक्ने भन्दै सिरहा पठाउन माग गरेपछि सिरहा कारागार पठाइएको धनुषा जिल्ला अदालतको आदेशमा उल्लेख छ ।














प्रतिक्रिया