काठमाडौँ, ७ मंसिर । औद्योगिक प्रवद्र्धन बोर्डले झन्डै पाँचदशकदेखि सञ्चालनमा रहेका क्यासिनोलाई उद्योगका रुपमा सूचीकृत गर्न तथा सुजीकारलाई पनि उद्योगमा वर्गीकरण गर्न सरकारलाई सुझाव दिएको छ ।
मन्त्री महेश बस्नेतको अध्यक्षतामा आइतबार बसेको बोर्ड बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत व्यावसायिक रुपमा सञ्चालन हुँदै आएका क्यासिनोलाई नियमन गर्न ‘क्यासिनो नीति, २०७०’ जारी भइसकेकाले ‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४७’ बमोजिम क्यासिनोलाई उद्योगको रुपमा उद्योग विभागमा दर्ता गराउने व्यवस्थाका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो ।
विदेशी लगानीमा स्थापित नेपाली कम्पनीले अर्को नेपाली कम्पनीको सेयर खरिद गरी पुनः लगानी गर्न चाहेमा नकारात्मक अनुसूचीका उद्योगबाहेकका उद्योग उद्योग विभागको स्वीकृति लिएर सेयर खरिद–बिक्री गर्न पाउने तथा सिलाई व्यवसायलाई सेवामूलक उद्योगको रुपमा वर्गीकरण गरी बढीमा १० वटा सम्म सिलाई मेसिन राख्न पाउने र त्यसमा विदेशी लगानी गर्न नपाउने प्रबन्धका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय बैठकले गरेको मन्त्री बस्नेतको निजी सचिवालयले जनाएको छ ।
जुटमिललाई सरकारले ७० प्रतिशत विद्युत् महसुलमा छुट दिँदै आएकामा औद्योगिक प्रवद्र्धन बोर्डको अघिल्लो बैठकले जुट, स्टिल र धागोजस्ता उद्योगलाई पनि छुट दिन अर्थ मन्त्रालयसमक्ष सिफारिस गर्ने निर्णय आजैको बैठकले गरेको छ । रासस













प्रतिक्रिया