काठमाडौं, १० मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका निर्वाचन क्षेत्रमा आइतबार मतदान हुँदैछ ।
दुई वर्षअघि संविधान जारी भएपछि पहिलो पटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको हो । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान हुनेछ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये पहिलो चरणमा ३७ क्षेत्रमा मतदान हुँदैछ । प्रदेशसभातर्फ भने ७४ निर्वाचन क्षेत्र छन् । ७ वटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्र छन् ।
संविधानसभा जस्तै प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० सिट छन् । ती जिल्लामा दुवै सभाको समानुपातिक सिटका लागिसमेत मतदान हुनेछ ।
संविधानअनुसार प्रतिनिधिसभाको क्षेत्र संख्याको दोब्बर प्रदेशसभा क्षेत्र छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगले गत भदौमा संविधानले तोकेको संख्याअनुसार निर्वाचन क्षेत्र सीमा निर्धारण गरेको थियो । २०५६ सालमा प्रतिनिधिसभाको निर्वाचन भएयता संसदीय निर्वाचन भएको थिएन ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन भएको मौका छोपेर ०५९ असोज १८ गते शासकीय अधिकार आफ्नो हातमा लिएका थिए । यही अवधिमा दोस्रो जनआन्दोलन भयो, आन्दोलनमा रहेका ७ दल र सशस्त्र द्वन्द्व गरिरहेका माओवादीबीच भएको १२ बुँदे सहमतिको जगमा ०६३ वैशाख ११ गते ०५९ सालमा विघटित प्रतिनिधिसभा पुन:स्थापना गरी शासकीय अधिकार जनतामा फिर्ता भयो ।
१० वर्षे सशस्त्र द्वन्द्व त्यागेर माओवादी शान्ति प्रक्रियामा आयो । संवैधानिक राजतन्त्रबाट मुलुक गणतन्त्रमा प्रवेश गर्यो । ०६४ र ०७० सालमा दुइटा संविधानसभा निर्वाचन भए । संविधानसभालाई नै व्यवस्थापिका संसदको काम गर्ने अधिकारसमेत थियो । मधेस आन्दोलनको जगमा मुलुकले संघीय शासन व्यवस्था स्वीकार गर्यो ।
०७२ असोज ३ मा संविधानसभाले जारी गरेको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ (केन्द्र), प्रदेश र स्थानीय गरी तीन तह छन् । ०५९ असारयता जनप्रतिनिधिविहीन रहेको स्थानीय तहमा पनि यही वर्ष निर्वाचन सम्पन्न भइसकेको छ । पुन:संरचनापछिको ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधि बहाल भइसकेका छन् ।
यति बेला संघ (केन्द्र) सरकारका लागि प्रतिनिधिसभा र प्रदेश सरकारका लागि प्रदेशसभाको निर्वाचन हुन लागेको हो । दुवै सभाको निर्वाचन एकैसाथ हुँदैछ । प्रतिनिधिसभा तथा स्थानीय संरचना यसअघि पनि रहेको र निर्वाचनसमेत भएका थिए । तर प्रदेशको संरचना र त्यसको निर्वाचन नेपालका लागि बिल्कुल नौलो हो । संविधानले देशभर ७ वटा प्रदेश बनाएको छ ।
संविधानले आगामी माघ ७ भित्र संघीय संसद् निर्माणको परिकल्पना गरेको छ । ‘संविधान कार्यान्वयनको पहिलो खुडकिलोको रूपमा स्थानीय तहको निर्वाचन सफलतासाथ सम्पन्न भइसकेको छ,’ प्रमुख आयुक्त यादवले भने, ‘समयमा निर्वाचन सम्पन्न हुँदैन कि भन्ने आशंका र भ्रमलाई पनि यो निर्वाचनले अन्त्य गर्नेछ ।’ उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सफलतासँगै संविधान कार्यान्वयन हुने र संघीय गणतन्त्र सुदृढ भई राजनीतिक संक्रमणकालको अन्त्य हुने विश्वास व्यक्त गरे ।
परिचयपत्र नभए विकल्प
आयोगले स्थानीय तह निर्वाचनमा जस्तै मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचय पत्र लिन नभ्याएको वा लिएर पनि हराएको वा नष्ट भएका व्यक्तिको हकमा वैकल्पिक व्यवस्था मिलाएको छ ।
प्रमुख आयुक्त यादवले त्यस्ता मतदाताको हकमा मताधिकार सुनिश्चित गरिएको बताए । आयोगले ०७० सालको संविधानसभामा प्रयोग भएको पुरानो मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राहदानी, सवारी चालक परिचयपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट जारी भएका फोटोसहितको परिचयपत्रलाई मान्यता दिने जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पुर्याउन आग्रह गरेका छन् ।
उनले मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान गरेमा कानुनबमोजिम सजायको भागी हुनुपर्नेसमेत बताए ।
बसेकै स्थानमा व्यवस्था
दार्चुलामा हिमपातका कारण उच्च हिमाली क्षेत्रबाट दक्षिण झरेका मतादाताका लागै अस्थायी बसोबास रहेकै स्थानामा मतदान केन्द्रको व्यवस्थापन गरिएको छ । व्यास गाउँपालिका १ का दुईवटा मतदान केन्द्रका मतदाता सदरमुकाम खलंगा झरेका छन् । दार्चुलाका निर्वाचन अधिकारी तुल्सीराम पाण्डेले हिमपातका कारण केही दिन अगाडिदेखि नै त्यहाँका बासिन्दा सदरमुकाम झरेको बताए ।
‘त्यहाँका शतप्रतिशत मतदाता तल भर्नुभएको छ, निर्वाचन आयोगको परामर्शमा यहाँका राजनीतिक दल र उम्मेदवारसँगको छलफलपछि उहाँहरूका लागि सदरमुकाममै मतदान केन्द्रको व्यवस्था गरिएको छ,’ उनले भने, ‘माथि बस्तीमा मतदान केन्द्र छैन । उहाँहरूले अब सदरमुकाममै मतदान गर्न पाउनु हुनेछ ।’ ती दुई मतदान केन्द्रमा ५४१ मतदाता छन् । आयोगका प्रवक्ता नवराज ढकालले हिमपातले मतदाता तल झरेपछि त्यसको व्यवस्थापन मिलाउने जिम्मा स्थानीय मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको बताए ।
तीनवटा मतपत्र
यसअघिका दुई संविधानसभा निर्वाचनमा दुइटा मतपत्रको अभ्यास गरिसकेका मतदाताले यस पटक तीनवटा मतपत्र पाउने छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलगअलग पानामा मतपत्र छापिएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ एकै पानामा दुइटै सभाको मतपत्र रहेको छ ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रंगको मसीले चिह्न छापिएका मतपत्र र प्रदेशसभाका लागि कालो मसीले चिह्न छापिएको मतपत्र हुनेछ । समानुपातिकतर्फ हल्का रातो मसीले छापिएको एउटै पानामा माथिल्लो भागमा मतपत्र १ प्रतिनिधिसभातर्फ र तल्लो भागमा मतपत्र २ प्रदेशसभातर्फ भाग लिएका दलहरूको निर्वाचन चिह्न रहने छ ।
तीनवटा मतपत्र पाएका मतदाताले मतदान भने ४ ठाउँमा गर्न पाउने छन् । प्रत्यक्षतर्फ दुवै सभामा १/१ र समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि तलमाथि आफूले चाहेको दललाई मतदान गर्न पाउने छन् ।












प्रतिक्रिया