सूर्यचन्द्र बस्नेत/विष्णु नेपाल
काठमाडौँ, ७ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनको तयारी बैठकअन्तर्गत आजदेखि परराष्ट्र सचिवस्तरीय स्थायी समितिको ४१ औँ बैठक सुरु भएको छ ।
होटल सोल्टीमा आइतबार बिहानदेखि सुरु भएको सो बैठकमा सबै सार्क सदस्य राष्ट्रका परराष्ट्र सचिव नेतृत्वका टोलीको सहभागिता छ । दुई दिनसम्म चल्ने बैठकमा शिखर सम्मेलनको तयारीअन्तर्गत शनिबार सम्पन्न सहसचिवस्तरीय कार्यक्रम समितिले अनुमोदन गरेका र अघिल्लो कार्यक्रम समिति प्रतिवेदनको कार्यान्वयनको अवस्था प्रस्तुत गरिनेछ ।
बैठकमा सार्कका महासचिव अर्जुनबहादुृर थापाले सार्कको हालसम्मको कार्य प्रगति र भावी दिशाका बारेमा विश्लेषणात्मक प्रस्तुति राख्नुहुनेछ । बैठकमा यसबाहेक सार्कका सदस्य राष्ट्रबीच सहयोगका क्षेत्र जस्तै गरिबी निवारण, सूचना प्रविधि, ऊर्जा सहयोगलगायत महत्वपूर्ण विषयमा पनि पुनरावलोकन हुनेछ । सार्कमा रहेका नौ पर्यवेक्षक मुलुकसँगको सम्बन्ध र सार्कमा उनीहरुको स्थितिबारेमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो ।
कामु सचिव वैरागीले सार्कका विगतका प्रतिबद्धता र कार्यक्रमलाई परिणाममुखी बनाएर त्यसको प्रतिफल सार्क क्षेत्रका जनतामा पु¥याउने भन्नेमा छलफल केन्द्रित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “शिखर सम्मेलनको नारा नै ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने रहेकाले क्षेत्रीय एकताको भावनालाई गहिरो बनाउँदै सार्कका जनतालाई त्यसको परिणाम उपलब्ध गराउने प्रयास हुनेछ ।” कामु सचिव वैरागीले सार्क स्थायी समितिको अध्यक्षता माल्दिभ्सबाट ग्रहण गर्दै आतङ्कवाद एवं गरिबीविरुद्ध एकताबद्ध भएर लड्न आह्वान गर्नुभयो ।
स्थायी समितिको बैठकमा सम्झौतापत्रमा हस्ताक्षरका लागि सदस्य राष्ट्रबाट प्रक्रिया र गृहकार्य पूरा भएर आएका विषय रेल, सडक र ऊर्जा सहयोगका विषयमा पनि छलफल हुनेछ । बैठकले खास गरेर विगतका शिखर सम्मेलनले घोषणा गरेका कामको समीक्षा गर्नुका साथै सार्कलाई प्रभावकारी र गतिशील तुल्याउन भावी रूपरेखा कोर्नेछ ।
परराष्ट्र सचिवस्तरको उक्त बैठकमा नेपालका कायम मुकायम परराष्ट्र सचिव शङ्करदास वैरागी, अफगानिस्तानको विदेश मन्त्रालयको क्षेत्रीय सहयोग विभागका उपमहानिर्देशक सेद्दिक रसुली, बङ्गलादेशका विदेश सचिव साहिदुल हक, भुटानका विदेश सचिव यासेइ दोर्जी, भारतका विदेश सचिव सुजाथा सिंह, माल्दिभ्सका विदेश सचिव अलीनासिर मोहम्मद, पाकिस्तानका विदेश सचिव अजिज अहमद चौधरी र श्रीलङ्काका तर्फबाट बाह्य मामिलासम्बन्धी सचिव क्षेनुका सेनेवारत्नेले आफ्नो मुलुकको टोलीको नेतृत्व गर्नुभएको छ ।
बैठकमा आयोजक राष्ट्रका नाताले नेपालले मस्यौदा गरी सदस्य राष्ट्रलाई पठाएको घोषणापत्रमा सदस्य राष्ट्रबाट सुझाव प्राप्त गर्ने क्रम जारी छ । ती सुझावलाई समेटेर घोषणापत्रलाई अन्तिम रुप दिनेबारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
दुई दिनसम्म चल्ने उक्त समितिको बैठकले राजनीतिकरूपमा सम्बोधन गर्नुपर्ने विषयवस्तुबाहेकका शिखर सम्मेलनमा पेस गर्ने सम्पूर्ण कार्यसूचीलाई अनुमोदन गर्नेछ । स्थायी समितिले पारित गर्न बाँकी रहेका विषयवस्तुमाथि यसपछि हुने सार्क मन्त्रिपरिषद्को बैठकले छलफल गरी अन्तिम रूप दिनेछ । मन्त्रिपरिषद्को बैठकले पारित गरेका विषयवस्तुका आधारमा काठमाडौँ घोषणापत्र तयार हुने र त्यसैको सेरोफेरोमा शिखर सम्मेलनमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखले सार्कसम्बन्धी धारणा प्रस्तुत गर्नुहुनेछ ।
शनिवार सम्पन्न कार्यक्रम समितिको सार्कका केही केन्द्र बन्द गर्ने र केहीको पुनःसंरचना गर्ने विषयमा समेत छलफल गरेको थियो । सार्कमा हाल ११ केन्द्र क्रियाशील छन् । यस अतिरिक्त समितिले सन् २०१५ को सार्क गतिविधिको वार्षिक कार्यसूची र अघिल्ला बैठकहरूले गरेका सिफारिसको कार्यान्वयनको अवस्थाबारे समेत छलफल गरेको थियो ।
सार्क सम्मेलन काठमाडौँमा आयोजना गरिएको यो तेस्रो पटक हो । प्रत्येक पटक सार्क शिखर सम्मेलनको आयोजना हुँदा नेपालको राजनीतिक प्रणालीमा विविधता रहँदै आएको छ । पहिलो पटक उक्त सम्मेलनको आयोजना हुँदा नेपालमा सक्रिय राजतन्त्रसहितको पञ्चायती व्यवस्था कायम रहेको थियो भने दोस्रो पटक आयोजना हुँदा राजा र जनतामा बराबर अधिकार रहेको बहुदलीय संसदवादी व्यवस्था रहेको थियो ।
यस पटक भने नेपाली जनतामा सार्वभौमसत्ता कायम रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको छ । यस पटक शिखर सम्मेलनबाट नेपालले सार्कको अध्यक्षता ग्रहण गर्दैछ भने सार्कका महासचिव पनि नेपालकै पूर्व परराष्ट्र सचिव अर्जुनबहादुर थापा हुनुहुन्छ । त्यसो त सार्कको सचिवालय समेत काठमाडौँमा नै रहेको छ । यस पटकको सम्मेलनको नारा ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ रहेको छ । रासस















प्रतिक्रिया