२ कार्तिक २०८३, सोमबार

विहेका लागि ४ दिनको मात्रै विदा पाएका थिए इन्सपेक्टर दम्पतीले, अब कहिल्यै फर्किने छैनन्

10.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । रुकुमको मुसीकोट नगरपालिका वडा नम्बर ६ साँखमा शुक्रबार राति भएको सवारी दुर्घटनामा मृत्यु भएका नेपाल प्रहरीका इन्स्पेक्टर दम्पतीले विवाहका लागि ४ दिन मात्रै विदा पाएका थिए । विवाह सकेर उनीहरुलाई आगामी सोमबारबाट नियमित काममा फर्किनु थियो, तर फेरि कार्यालय नफर्किने गरेर उनीहरु सधैँका लागी विदा भएका छन् ।

दुर्घटनामा मृत्यु भएका रुकुमकोटका प्रहरी इन्सपेक्टर नविन श्रेष्ठ जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत र उनकी श्रीमती प्रहरी इन्सपेक्टर अनिता प्रधान जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिइन् ।

उनीहरु दुबै जना एउटै ब्याच २०७२ सालमा प्रहरी इन्सपेक्टरमा भर्ना भएका थिए । नविनले सोझै नाम निकालेका थिए भने अनिता २०६९ को असईमा भर्ना भई २०७२ मा इन्सपेक्टरमा नाम निकालेकी प्रहरी अधिकृत हुन । अनिताको घर सुनसरीको ईटहरी हो ।

प्रदेश नम्वर ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दका अनुसार नविन यही मंसिरको २ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा सरुवा भएका थिए । विवाहका लागि भनेर उनलाई ४ दिनको मात्रै विदा स्वीकृत गरिएको थियो । उनी आगामी सोमबार (पर्सी)देखि नियमित डिउटीमा खटिने गरी कार्यालयबाट विदा भएका थिए ।

अनिता जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिईन । हालको संघीय प्रहरी कार्यालय मेचीमा दरबन्दी भएपनि उनी यहि भदौ २१ गतेबाट जिल्ला प्रहरी कार्यालय महोत्तरीमा थिइन । ‘निर्वाचनका बेला ४ दिनका लागि मात्रै विदा स्वीकृत गरिएको थियो, दुखद खबर सुन्नु पर्यो,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुबेसिह कडायतले भने ।

इन्सपेक्टरद्वयको सडक दुर्घटनामा मृत्यु भएपछि उनीहरुको घर परिवारसँगै सुर्खेत र महोत्तरी प्रहरीमा पनि शोक छाएको छ । शुक्रबार राति भएको जीप दुर्घटनामा इन्सपेक्टर दम्पतीसहित ७ जनाको मृत्यु भएको थियो ।