२ कार्तिक २०८३, सोमबार

आर्मीलाई हराउँदै सशस्त्रले जित्यो प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ मंसिर । ‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०७४’ को उपाधी सशस्त्र प्रहरी महिला फुटवल टिम जितेको छ । त्रिभुवन आर्मी क्लब महिला फुटबल टिम र सशस्त्र प्रहरी महिला फुटवल टिम बीच भएको फाईनल खेलमा सशस्त्र प्रहरी महिला फुटवल टिमले त्रिभुवन आर्मी क्लब महिला फुटबल टिमलाई ३–२ गोल अन्तरले पराजित गरी उपाधि जितेको हो ।

सशस्त्रले उपाधीसहित ट्रफी, मेडल र नगद ३ लाख पुरस्कार प्राप्त गरेको छ । जंगी अड्डा परिसरको खेलमैदानमा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले प्रथम हुने सशस्त्र टोलीलाई पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्न सफल त्रिभुवन आर्मी महिला फुटबल टिमकी सपना लामालाई स्कुटर उपहार प्रदान गरिएको छ । त्यसैगरि, उक्त प्रतियोगितामा द्वितीय हुन सफल भएको त्रिभुवन आर्मी महिला फुटबल टिमलाई बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले मेडल तथा प्रमाणपत्र र नगद एकलाख पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट गोल किपर सशस्त्र प्रहरी महिला फुटबल टिमका क्रमशः जनक सिंह, मनमाया लिम्बु र एन्जिला तुम्बाहाम्फे भए । उत्कृष्ट फरवार्ड र उत्कृष्ट मिडफिल्डर त्रिभुवन आर्मी महिला फुटबल टिमका क्रमशः कृष्णा खत्री र दिपा राई घोषित भए । उनीहरुलाई नगद १०÷१० हजार पुरस्कारसहित ट्रफी प्रदान गरिएको छ । प्रतियोगिताको खेल अवधीमा १२ गोल गर्दै सशस्त्र प्रहरी बल महिला फुटबल टिमका सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता घोषित भइन् । उनले नगद २५ हजार र ट्रफी प्राप्त गरेकी छिन् । साथै, उक्त प्रतियोगितामा मित्रराष्ट्र भारतको सिक्किम महिला फुटबल टिमलाई फेयर प्ले अवार्ड प्रदान गरिएको थियो ।

नकआउटको आधारमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा मित्रराष्ट्र भारतको सिक्किम महिला फुटबल टिम र बिहार महिला फुटबल टिम गरी दुई, घरेलु विभागीय महिला फुटबल टिम तीन र पाँच विकासक्षेत्रका महिला फुटबल टिम पाँच गरी दश टिमको सहभागिता रहेको थियो । उक्त समापन समारोह कार्यक्रममा रक्षा सचिव विनोद केसी, खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल, पूर्व प्रधानसेनापतिहरु, अखिल नेपाल फुटबल सङ्घका पदाधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेनाका रथीबृन्द, सेनानी समुह लगायत संचारकर्मी तथा खेलप्रेमी दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।