काठमाडौँ, ६ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला समक्ष नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशन पक्षधर नेताहरूले शनिबार ज्ञापनपत्र प्रस्तुत गरेका छन् ।
काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर विद्यार्थी नेताले तत्काल सङ्घको महाधिवेशनको मिति तोक्नुपर्ने माग गर्दै देउवा निवास बुढानिलकण्ठ पुगी प्रस्तुत गरेको ज्ञापनपत्र बुझ्दै पूर्व प्रधानमन्त्री देउवाले लोकतान्त्रिक प्रक्रियाअनुसार महाधिवेशन गर्नुपर्ने माग आफूले पटक–पटक नेतृत्वसँग राख्दै आएको स्पष्ट पार्नुभयो ।
सार्क शिखर सम्मेलनकै बीचमा पार्टी नेतृत्वसँग भेटेर मङ्सिर महिनाभित्रमा महाधिवेशन गर्नेबारे छलफल गर्ने उहाँले बताउनुभयो ।
यस्तै, चण्डोलस्थित आफ्नै निवासमा ज्ञापनपत्र बुझ्दै महामन्त्री सिटौलाले मङ्सिर महिनाभित्रमा महाधिवेशन गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेवि सङ्घका पुष्पकुमार शाहीले जानकारी दिनुभयो ।
ज्ञापनपत्र प्रस्तुत गर्ने विद्यार्थी नेतामा देउवा पक्षधर विद्यार्थी नेताहरू तथा अध्यक्षका उम्मेदवार नैनसिंह महर, उपाध्यक्षका उम्मेदवार शाहीलगायतको उपस्थिति थियो ।
विद्यार्थी नेताले सातौँ पटकसम्म महाधिवेशन स्थगित गर्नु गलत भएको भन्दै पटक–पटक पत्रकार सम्मेलन गरी आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनभन्दा अगाडि नै मिति तोक्न माग गर्दै नेतालाई ज्ञापनपत्र बुझाउने, सङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने, काँग्रेस पार्टी कार्यालय र जिल्ला पार्टी कार्यालयमा समेत नारा, जुलुस, धर्ना, अनशनलगायत सङ्घर्षका कार्यक्रम गर्ने घोषणा गरेका थिए ।
महाधिवेशनको माग गर्दै विद्यार्थी नेताहरू शङ््कर पौडेल, गणेश सापकोटा, रवीन्द्र रोकाय र सुजन अधिकारी केही महिनाअघि नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आमरण अनशन बसेका थिए ।















प्रतिक्रिया