लण्डन, ६ मंसिर । रियल मड्रिडबाट खेल्ने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियन्स लिगमा एकै क्यालेन्डर इअरमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।
रोनाल्डोले मंगलबार राति एपोएल निकोसिया विरुद्ध समूह चरणको खेलमा २ गोल गर्दै सन् २०१७ मा कूल १८ गोल गरेका हुन् । एपोएललाई ६–० ले पराजित गर्दै साविक विजेता रियल मड्रिड प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सन् २०१६–१७ को सिजनमा १० गोल गरेका रोनाल्डोले २०१७–१८ को सिजनमा ८ गोल गरिसकेका छन् ।
यरोनाल्डोले रियल मड्रिडका लागि सबैखाले युरोपियन क्लब प्रतियोगितामा गोल संख्या १०० पुर्याएका छन् । उनले ९५ खेल खेल्दै रियलका लागि सय गोल गरेका हुन् ।
च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको कीर्तिमान समेत आफ्नो नामम लेखाइसकेका रोनाल्डोको गोल संख्या ११३ पुगेको छ । रोनाल्डोले दोस्रो स्थानको लियोनल मेसी भन्दा १६ गोल बढी गरेका छन् । मेसीले ९७ गोल गरेका छन् । – एजेन्सी















प्रतिक्रिया