२२ कार्तिक २०८३, आइतबार

मैले मन्त्री बन्न राजनीति गरेको होइनः नेता अमात्य

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार मदन अमात्य (बायाँ), रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला (दायाँ) । तस्विरः रिपोर्टर्स क्लब ।

ललितपुर, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मदन अमात्यले ललितपुरका तीन वटै क्षेत्र आफूहरुको गठबन्धनले चुनाव जित्ने दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै अमात्यले यस्तो दाबी गरेका हुन् । उनले ललितपुरमा एमाले–माओवादी केन्द्रको बाम गठबन्धनको कुनै प्रभाव नरहेको समेत स्पष्ट पारे । क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा आयोजित साक्षात्कारमा बोल्दै उनले अबको पाँचवर्ष भित्र ललितपुरमा विकासको चमत्कार गर्ने दाबी समेत गरे ।

बाम गठबन्धनबाट सोही क्षेत्रकी उम्मेद्धवार बनेकी नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाललाई आफूले प्रतिष्पर्धीको रुपमा नलिएको समेत उनको भनाई थियो । उनले भने, ‘भुषालजी मेरो प्रतिष्पर्धी होइन, उहाँ पछि आएर (ललितपुर) यहाँ बसेको हो । ललितपुरमा बामको प्रभाव छैन । म सभापति भएपछि जनताको बीचमा गएँ, अहिले काँग्रेस राम्रो भएको छ ।’

उनले बामपन्थीहरुले देशैभरि चुनाव जित्ने भनेर भनेपनि यो उनीहरुको भोट माग्दा भन्ने कुरा मात्रै भएको आरोप लगाए । उनले थपे, ‘तर जनताले के चाहन्छन् भन्ने कुरा ठूलो कुरा हो, माधव नेपाल प्रधानमन्त्री हुँदा अरुण तेस्रो गयो, आज यो बनेको भए देशमा लोडसेडिङ हुँदैनथ्यो ।’
आफ्नो प्रतिष्पर्धी पम्फा भुषाल प्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका उनले भने, ‘अहिले जित्छु भनेर हुँदैन, यो त भोलि जनताले देखाउने कुरा हो । म त उहाँलाई डबल मतले पराजय गर्छु, मेरो जित सुनिश्चित छ ।’

आफूले राजनीति गरेको ५२ वर्ष भएको उल्लेख गर्दै उनले आफू कहिल्यै पनि पद र लोभमा नपर्ने जिकिर गरे । अमात्य भन्छन्, ‘म मन्त्री बन्न राजनीति गरेको मान्छे होईन । मैले त देश र जनताको फाईदाको लागि राजनीति गरिरहेको छु, हेर्दै जानु होला हामी ललितपुरका सबै क्षेत्र जित्छौँ ।’