रामपुर (पाल्पा), ५ मंसिर । रामपुरका रुद्रनारायण श्रेष्ठले चाउचाउ उद्योगबाट अहिले मनग्य आम्दानी गर्दै आएका छन् । एक दशक अगाडिदेखि रामपुरमा कालिका सिन्के चाउचाउ उद्योग शुरु गरेका श्रेष्ठले चाउचाउ बिक्रीबाट मासिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्दै आउका हुन् ।
समाजमा सफल र प्रतिष्ठित उद्योगीका रुपमा उनी चिनिन्छन् । रामपुरको बजार बढ्दै गएपछि अहिले सोचेभन्दा राम्रो व्यापार हुन थालेको उनको भनाइ छ । यहाँ उत्पादित चाउचाउ पाल्पा, स्याङ्जा र तनहुँका स्थानीय बजारमा खपत हुँदै आएको छ । उनले व्यवसाय बढाउँदै जाँदा अहिले यस क्षेत्रमा बाहिरबाट चाउचाउ भित्रने क्रममा कमी आएको छ ।
‘दैनिक पाँच क्विन्टलसम्म चाउचाउ बिक्री हुन्छ’, उनले भने । चाउचाउ उद्योगमा अहिले १० जनाले रोजगारीसमेत पाउका छन् । उनी भन्छन्, ‘विदेशको मरुभूमीमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर आफ्नो पेशा व्यवसायमा निरन्तररुपमा लागे महिनामा लाखौँ रुपैयाँ कमाउन सकिन्छ ।’ उनी सामाजिक कार्यमा समेत निकै सक्रिय छन् ।
शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुर बजारमा आफ्नो उत्पादन पु-याउन उनलाई हम्मेहम्मे परेको छ । उद्योगी श्रेष्ठले जस्तै विदेश जान लागेका युवाले उद्यम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ । –रासस















प्रतिक्रिया