२२ कार्तिक २०८३, आइतबार

बाँकेका ४० विद्यालयमा विपद् जोखिम न्यूनिकरण परियोजना शुरु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा
नेपालगन्ज (बाँके), मंसिर ५ । बाढीको उच्च जोखिममा रहेका बाँकेका तीनवटा गाउँपालिकाका ३० वटा सामुदायिक र १० वटा निजी विद्यालय गरी ४० वटा विद्यालयमा विद्यालय सुरक्षा परियोजना सञ्चालन गरिएको छ । नेपालगन्जमा शिक्षा र विपद् जोखिममा काम गर्ने विभिन्न सरोकारवाला निकायको उपस्थितिमा सो परियोजना सञ्चालन गरिएको जानकारी दिइएको हो ।

जिल्लाको राप्ती सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका ४० वटा विद्यालयमा विद्यालय सुरक्षा तथा विपद् जोखिम न्यूनिकरण परियोजना सञ्चालन गरेर ती विद्यालय, स्थानीय समुदाय र विद्यार्थीलाई सुरक्षित पार्ने कार्य शुरु गरिएको बाँकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले बताए । सो परियोजनाका बारेमा जानकारी गराउने उदेशयले आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी साउदले विभिन्न प्रकारका प्रकोप र विपदबाट विद्यालयलाई सुरक्षित राख्न सो परियोजना निकै महत्वपूर्ण भएकोले यस्तो परियोजना जिल्लाका सबै विद्यालयमा सञ्चालन गरिनु पर्ने माग गरे । गत बर्ष १० वटा विद्यालयमा सञ्चालन गरिएको सो कार्यक्रमको परिणाम निकै सकारात्मक र उत्कृष्ट देखिएकोले उक्त परियोजनामा भएका तालिम र जानकारी जिल्लाका सबै विद्यालय, शिक्षक र बालबालिकाले पाउनु पर्ने उनको धारणा थियो ।

सो अवसरमा बोल्दै सेभ द चिल्ड्रेनका एसोसियट डाईरेक्टर विरेन्द्र ठगुन्नाले बाँकेको राप्ती छेउछाउका विद्यालयमा अध्ययनरत बालबालिकाहरु बाढीको अत्याधिक जोखिममा रहेकोले यो परियोजना सञ्चालन गरिएको जनाउँदै परियोजना सकिएपछि यसको निरन्तरताका लागि स्थानीयतहले जिम्मेवारी लिने गरी काम गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा डुडुवा गाउँपालिकाका शिक्षा प्रमुख खगेन्द्र मल्लले परियोजनाको बारेमा बिस्तृत रुपमा जानकारी गराएका थिए भने सहभागी विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले सुझाव सल्लाह दिएका थिए ।

बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, नेपाल रेडक्रस सोसाइटीका निरन्जना मल्ल, प्लान ईन्टरनेशनलका सन्जिव कुमार जोशी र डीईओसीका गौरी बुढाथोकी लगायतले परियोजनाका बारेमा बोलेका थिए । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको सो परियोजना राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २, ५, ६ र ७ डुडुवा गाउँपालिकाको १ देखि ५ नम्बर सम्मका ५ वटा वडाहरु र नरैनापुर गाउँपालिकाको ५ र ६ नम्बर वडामा संचालन गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए । सो परियोजनाले शिक्षा, बाल संरक्षण र विपद् जोखिम न्यूनीकरणमा सरकारी अधिकारी, समुदाय र बालबालिकाहरुको उत्थानशिलता सुधार गर्ने उद्देश्य लिएको जनाउँदै विद्यालयतहमा प्रकोपका कारणले हुने क्षति न्यूनीकरण गर्न आपतकालिन अवस्थामा क्षमता विकास, जनचेतना अभिवृद्धि र योजना एवं निति निर्माण साथै कार्यान्वयनमा सहजीकरण गर्ने जानकारी परियोजनाका संयोजक दिपेन्द्र चौधरीले दिए ।