२२ कार्तिक २०८३, आइतबार

सिंगटीमा वाम गठबन्धनको भव्य जनसभा, उत्तरी नाका खुलाई चीन ओहोरदोहार गराउने उद्घोष

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, ४ मंसिर । दोलखाको उत्तरी केन्द्रविन्दु सिंगटीमा एमाले र माओवादी केन्द्रले सोमबार भब्य जनसभा गरेका छन् । वाम गठबन्धनका उम्मेदवारहरुलाई यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा भारी मतले जिताउने अभियानसहित भएको जनसभामा बोल्दै नेताहरुले आफ्ना राजनीतिक र विकासका एजेण्डा जनतामाझ राखेका थिए ।

सभालाई दोलखाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार एमालेका नेता पार्वत गुरुङ्ग, प्रदेश सभाका लागि क्षेत्र नम्बर १ का उम्मेदवार माओवादी केन्द्रका नेता विशाल खड्का, क्षेत्र नम्बर २ बाट एमाले पोलिटब्यूरो सदस्य पशुपति चौंलागाईंले सम्बोधन गरेका थिए ।

उनीहरुले सिंगटी हुदै चीन जोड्ने लामाबगर नाका खुलाई उत्तर–दक्षिण जोड्ने काम जतिसक्दो चाँडो सम्पन्न गर्ने प्रतिवद्धता राखेका थिए ।

उनीहरुले एमाले र माओवादी केन्द्र प्राविधिक रुपमा मात्र फरक रहेकोले चुनाव लगत्तै पार्टी एकीकरण हुने र एकिकृत कम्युनिष्ट सरकारले दोलखासँगै सिंगो मुलुकको आर्थिक समृद्धि हुने धारणा राखेका थिए । सभामा विगु, कालिञ्चोक, गौरीशंकरसहितबाट हजारौं जिल्लावासी सिंगटीबजार पुगेका थिए ।

नेता चौंलागाइले लामाबगर माथि लप्ची क्षेत्रमा ३ सय मेघावाट जलविद्युत अध्ययन भइरहेकोले उत्पादन अघि बढाउन आवश्यक काम गर्ने बताए । कृषि, वन पैदावर, उर्जाको उत्पादनबाट आय आर्जन बढाई दोलखालीलाई धनी बनाउन आफू केन्द्रित हुने उनको भनाई थियो ।

एमालेका युवा नेता पार्वत गुरुङ्गले विदेशमा रहेका दोलखाली युवालाई स्वदेशमा फर्काई उद्यमी बनाउने वाचा गरे । लामावगर नाका, जलश्रोत, कृषि, जडिबुटीबाट वेरोजगारी र गरिबीको समस्या हटाउने समेत उनले बताएका थिए ।

त्यसैगरी माओवादी केन्द्रका युवा नेता विशाल खड्काले दोलखा जिल्लालाई हाइड्रको हब बनाउने योजना सुनाएका थिए । वाम एकताले विकास र समृद्धिको ढोका खुला गरेको बताउदै खड्काले ढुक्क भएर एमाले र माओवादी केन्द्रका उम्मेदवारको पक्षमा मत दिन आग्रह समेत गरेका थिए ।

कार्यक्रममा एमाले नेता एवं पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले ‘माथिल्लो तामाकोशी स्वदेशी लगानीमा नबनाए दोलखाका सांसदहरु आनन्दप्रसाद पोखरेल र पशुपति चौंलागाईले सिंहदरबारको ढोकैमा आत्मदाह गर्ने’ चेतावनी समेत दिएको प्रसङ्ग राखेका थिए । त्यसरी बनेको आयोजना एक दिन अघि सुरुङ्ग मार्ग बनिसकेको र आयोजनाको काम अन्तिममा पुगेकोमा आफूलाई खुशी लागेको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य गंगा कार्की र नेतृ एवं पूर्व राज्य मन्त्री देवी खड्काले वाम एकताले विपक्षी अतालिएपनि जनता खुशी भएको बताएका थिए ।

यसअघि एमालेको पकड रहेको जिल्लामा माओवादी केन्द्रसहित मिलेपछि सहजै वाम उम्मेदवारको जित हुने आकलन गरिएको छ ।