काठमाडौं, ५ मंसिर । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले आज पनि राजनीतिक परामर्शलाई जारी राख्नुभएको छ । आज सभापति भट्टराईले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र एमालेका उप–महासचिव तथा सभासद् विष्णुप्रसाद पौडेलसँग परामर्श गर्नुभएको छ ।
सभापति भट्टराईले अहिले संवाद समितिमा देखिएको गतिरोध अन्त्यका विषयमा राय लिनुभएको थियो । परामर्शका क्रममा संवाद समितिमा सभापति भट्टराईको मध्यमार्गी प्रस्तावमाथि छलफल भइरहेका बेला अचानक नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले हस्ताक्षर बुझाउनु गलत भएको धारणा नेताहरुले राख्नुभएको थियो । उहाँहरुले सभापति भट्टराईलाई यसको कानुनी र संवैधानिक हैसियत नभएको र राजनीतिकरुपमा नै समस्याको समाधान खोज्न सुझाव दिनुभएको थियो । चाँडै नै सहमतिका लागि शीर्ष नेताहरु बसेर छलफल गर्नुपर्ने र चाँडै संवाद समितिमा रहेको गतिरोधको हल खोज्नुपर्ने उहाँहरुको धारणा थियो ।
सभापति भट्टराईले आफूले गतिरोध अन्त्य गर्न प्रयत्न जारी राखेको उल्लेख गर्दै थप परामर्श गरेर चाँडै नै संवाद समितिमा देखिएको गतिरोध अन्त्य गर्ने बताउनुभएको थियो ।
आजै संवाद समितिका सभापति डा. बाबुराम भट्टराईलाई राष्ट्रिय बहिरा महासंघ नेपालले नेपाली सांकेतिक भाषालाई संवैधानिक मान्यता प्रदान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । महासंघका अध्यक्ष रामकुशल पन्तले सभापति भट्टराईलाई नेपाली सांकेतिक भाषालाई बहिराहरुको पहिलो भाषाको रुपमा नयाँ संविधानमा लिपिवद्ध गरी राष्ट्रिय मान्यता प्रदान गरिदिन माग राख्नुभएको थियो । नेपाली सांकेतिक भाषामा निकै थोरै मात्रै शब्दहरु रहेकोले शब्दज्ञान र सूचनामाथिको पहूँच तथा क्षमताविकासमा प्रतिकुल असर परेकोले थप शब्द संकेतको आवश्यकता रहेको पनि अध्यक्ष पन्तले बताउनुभयो । उक्त मागका सम्बन्धमा सभापति भट्टराईले आफूले सक्दो प्रयत्न गर्ने बताउनुभएको थियो ।















प्रतिक्रिया