लहान, ५ मंसिर । सवारी चालक अनुमतिपत्र(लाइसेन्स)का लागि नक्कली स्वास्थ्य जाँचको रिपोर्ट पेस गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
लहानका चिकित्सक डा कमलेश मण्डलको नक्कली हस्ताक्षर र छाप लगाएको स्वास्थ्य जाँचको नक्कली रिपोर्ट संलग्न गरी यातायात व्यवस्था कार्यालय लहानमा आवेदन भर्न लागेको गोप्य सूचनाको आधारमा प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका निवासी परीक्षण ठाकुरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।
पक्राउ परेका ठाकुरलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको फुयाँलले बताउनुभयो ।
यसैबीच यातायात व्यवस्था कार्यालय लहानले नयाँ प्रणालीअनुसार आह्वान गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दुई दिनमै एक हजार ५०० भन्दा बढीले आवेदन दर्ता गराएका छन् ।
करिब दुई वर्षपछि आवेदन आह्वान गरेका कारण अनुमतिपत्रको आवेदन भर्न सर्वसाधारणको चाप बढेको हो ।
मङ्सिर ३ र ४ गते दुई दिनमै एक हजार ५०० भन्दा बढी आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालय लहानका प्रमुख सीताराम खनालले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया