काठमाडौं, २ मंसिर । कतार सरकारले विदेशी कामदारहरूलाई काम लगाउँदा रोजगारदाताले अब उप्रान्त न्यूनतम ७ सय ५० रियल अर्थात करिब २१ हजार ४ सय नेपाली मासिक तलब दिनुपर्ने अस्थायी व्यवस्था गरेको छ ।
यो तलबसहित रोजगारदाताले कामदारलाई खान, बस्न तथा स्वास्थ्य सुविधा समेत दिनुपर्ने प्रावधान अस्थायीरुपमा सुरु गरिएको कतारको श्रम मन्त्रालयले जनाएको छ ।
कतारका श्रम मन्त्री इसा अलनउमीले समाचार संस्था एफपीलाई सो कुरा बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मन्त्री नउमीले सो न्यूनतम तलबको अस्थायी व्यवस्थालाई तत्काल कार्यन्वयनमा ल्याइने तथा स्थायी तलब कति तोक्ने भन्नेमा सरकारी अधिकारीहरू छलफलमा रहेको समेत बताएका छन् ।
उनले आगामी दिनमा न्यूनतम सेवा सुविधामा सुधार गरिँदै लैजाने समेत बताए । उनले भने, ‘यदि रोजदारदाताले प्रति महिना ७ सय ५० कतारी रियलभन्दा कम तलब कामदारलाई दिन खोज्छन् भने त्यस्ता सम्झौतालाई श्रम मन्त्रालयले पास गर्ने छैन ।’
कतारले सन् २०२२ मा विश्व कप आयोजना गर्ने जिम्मा पाएको छ । यसका लागि पूर्वाधार निमाणमा खटिएका विदेशी कामदारमाथि व्यापक श्रम शोषण भएको भन्दै सर्वत्र आलोचना भएपछि कतारले गत महिनादेखि कामदारको न्यूनतम हक सुनिश्चित गरिने प्रतिवद्धता व्यक्त गरेको थियो ।
कतारमा नेपालीसहित करिब २० लाख विदेशी कामदारहरू कार्यरत छन् । तलब सुविधामा आएको यस परिवर्तनले कतारमा रहेका नेपाली कामदारहरू समेत प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।
कतार जाने नेपाली कामदारको हकमा ९ सय रियाल तलव सुविधा पाएपछि मात्रै श्रम स्वीकृति दिइँदै आएको छ ।















प्रतिक्रिया