
खोटाङ, ५ मंसिर । जीप दुर्घटना हुँदा खोटाङमा ६ जनाको मृत्यु भएको छ ।
बालाचतुर्दशी मेला लागिरहेको हलेसीबाट आज बिहान यात्रु लिएर जयरामतर्फ जाँदै गरेको मे १ ज ७३२ नम्बरको मुस्ताङ जीप बडहरेको गौरी भीरमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ज्यान गुमाएका चार महिला र दुई पुरुषको अहिलेसम्म पहिचान नभएको खोटाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताए ।
दुर्घटनाक घाइते ९ जनालाई उपचारका लागि नेपाली सेनाको हेलीकोप्टरबाट राजधानी लैजाने तयारी भइरहेको छ ।
दुर्घटनास्थलबाट शवलाई सडकमा निकाल्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताए । घटनाको बिस्तृत विवरण अझै आउन बाँकी छ ।
यात्रुबाहक जीप बिहान पाँच बजेतिर दुर्छिम र बडहरेको सीमामा पर्ने गौरी भीरको साँधुरो सडकबाट करिब सात सय मिटर तल खसेको प्रहरी भनाइ छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई जीपबाट उछिट्टिएर पाखामा छरपस्ट रहेको अवस्थामा उद्धार गरिएको छ । घाइतेलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेका छन् ।















प्रतिक्रिया